विपद बाट बच्न नागरिकलाई जस्तापाता !

‘निम्न आय भएका गाउँपालिकाभित्रका सबै नागरिकको खरको छाना हटाउने अभियान शुरु गरेका छौँ, निकट भविष्यमै हाम्रो गाउँपालिका खरको छानामुक्त पालिका हुनेछ’ उहाँले भन्नुभयो ।

सल्यान, १४ जेठ ।

सल्यानको कालिमाटी गाउँपालिकाले सिंगो पालिकालाई खरको छानामुक्त बनाउने अभियानलाई तिव्रताका साथ अघि बढाएको छ । आर्थिक अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो । सिँगो गाउँपालिकालाई नै खरको छानामुक्त बनाउने अभियान अन्र्तगत २०७७ सालदेखी सुरुवात गरिएको अभियान अहिलेपनि जारी रहेको गाउँपालिकाले जनाएको छ । यस अभियानका लागि गाउँपालिकाको बजेटसहित प्रदेश सरकारको समपूरक बजेटबाट जस्तापाता खरिद गरी नागरिकलाई वितरण गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाभर ४ हजार ९ सय ७२ घरधुरी रहेका छन् । तिमध्ये १ हजार ३ सय १७ घर अर्थात एकचौथाई घर अझै खर, पराल र छ्वालीले छाएका छन् । यस्तै ६६ घर माटोले छाएका छन् भने टायल तथा खपडाले छाएका घर ९६ वटा रहेका छन् । पालिकाभर १ सय ९५ घर सिमेन्टको ढलान गरिएका छन् भने ३ हजार २ सय ६७ घर जस्ता, टिन तथा च्यादरले छाएका छन् । गाउँपालिकालाई खरको छानामुक्त बनाउने लक्ष्यका साथ नागरिकलाई निःशुल्क जस्तापाता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।

‘निम्न आय भएका गाउँपालिकाभित्रका सबै नागरिकको खरको छाना हटाउने अभियान शुरु गरेका छौँ, निकट भविष्यमै हाम्रो गाउँपालिका खरको छानामुक्त पालिका हुनेछ’ उहाँले भन्नुभयो । गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान शुरु गरेपछि अहिले त्यहाँका गाउँमा रहेका खरले छाएका घरमा जस्तापाता लगाउन थालिएको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर, पराल र छ्वालीले छाना छाउँदै आएका त्यहाँका नागरिकको घर गाउँपालिकाले निःशुल्करुपमा जस्ता पाताले छाइदिन थालेको उहाँको भनाइ छ ।

यहाँका निम्न आय भएकाको घरको छाना वर्षौंदेखि खर, पराल र छ्वालीले छाएका छन् । खरले घरको छाना छाउँदा आगलागी हुने तथा वर्षातको समयमा चुहिने हुँदा यहाँका नागरिकलाई निकै समस्या हुँदै आएपछि गाउँपालिकाले खरको छानामुक्त अभियान सञ्चालन गरेको हो । ‘खरको छानाले नागरिकलाई निकै सास्ती हुँदै आएको थियो, हामीले स्थानीय तहको निर्वाचनको समयमा खरका छाना हटाउने वचनबद्धता दिएका थियौँ, अहिले खरका छाना हटाउन थालेका छौँ’ उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा ३५ घरधुरी, वडा नम्बर २ मा ३३, वडा नम्बर ३ मा २५, वडा नम्बर ४ का २५, वडा नम्बर ५ मा ३३, वडा नम्बर ६ मा २५ र वडा नम्बर ७ मा २५ घरधुरीलाई जस्तापाता वितरण गरिने छ । यसबर्ष पालिकाभरका २०१ घरधुरीका लागि जस्तापाता वितरण गरिने उहाँको भनाइ छ । ‘भविष्यमा बाढी, पहिरो, हावाहुरी वा आगलागी जस्ता प्राकृतिक विपद् पर्न सक्ने भएकाले थप केही घरपरिवारलाई पुग्ने जति जस्तापाता सञ्चित राखिएको छ’ उहाँले भन्नुभयो ।

‘एकल महिला, विपन्न, गरिव, पिछडिएको क्षेत्रका नागरिक प्राथमिकतामा पर्छन्, जंगल धेरै भयो, डढेलोको जोखिम धेरै भयो, मध्यवर्ती क्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुको जोखिम पनि त्यतिकै भयो’ उहाँले थप्नुभयो । खरको छाना हटाएर जस्तापाता लगाउन थालिएपछि यहाँका विभिन्न गाउँ रमणीय तथा झिलीमिली देखिन थालेको स्थानीय बताउँछन् । घरका छानामा एकै रङका जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्यसमेत बढेको स्थानीयवासी बताउँछन् ।

जस्तापाताले घर छाउन थालिएपछि आगलागीको जोखिम कम भएको भन्दै स्थानीय खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस