हावाहुरीले क्षति गरेको डेढ महिना वित्यो : बिद्यालयले अझै पाएन् छाना !

‘शैक्षिक सत्र सुरु नहुदैँ बिद्यालयको छाना हावाले उडाएको हो, तत्कालै मर्मतसम्भार हुन्छ भन्ने आस गरेका थियौँ, सोही अनुसार हामीले पहल पनि गरेका हौँ, तर मर्मत नभएपछि पनि पठनपाठन त सुचारु गर्नै प¥यो, हामीले बिद्यार्थीलाई जसोतसो एउटै कोठामा राखेर भएपनि पठनपाठन नियमित गरेका छौँ’ उहाँले भन्नुभयो ‘सानो उमेरका बिद्यार्थी भएकाले एउटैमा राखेर पठनपाठन गर्न असजिलो भएको छ, यो हाम्रो रहर नभइ बाध्यता हो ।’

सल्यान, १५ जेठ ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ पाँचआरेमा रहेको नवज्योति प्राथमिक बिद्यालयले अझै छाना पाउन सकेको छैन् । ०८१ चैत २७ गते राति आएको बर्षासँगैको हावाहुरीले यस बिद्यालयको २ कोठे भवनको टिनको छाना उडाएको थियो । हावाहुरीले क्षति गरेको डेढ महिना बढी हुदाँ पनि यस बिद्यालयले नयाँ छाना पाउन सकेको छैन् । नयाँ शैक्षिकसत्र सुरु नहुदैँ बिद्यालय भवनमा क्षति भएपनि मर्मतसम्भारमा ढिलासुस्ती हुदा पठनपाठनमा समस्या भएको छ ।

२०४७ सालमा स्थापना भएको यस बिद्यालयमा बालविकास सहित गरेर ५६ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । तर हावाहुरीले छाना उडाएको २ कोठे भवनको मर्मत नहुदा बालविकास र कक्षा १ का बिद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको बिद्यालयका प्रधानाध्यापक रत्न बहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कक्षा २ र ३ का बिद्यार्थीलाई एउटा कोठामा तथा कक्षा ४ र ५ का बिद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ ।

‘शैक्षिक सत्र सुरु नहुदैँ बिद्यालयको छाना हावाले उडाएको हो, तत्कालै मर्मतसम्भार हुन्छ भन्ने आस गरेका थियौँ, सोही अनुसार हामीले पहल पनि गरेका हौँ, तर मर्मत नभएपछि पनि पठनपाठन त सुचारु गर्नै प¥यो, हामीले बिद्यार्थीलाई जसोतसो एउटै कोठामा राखेर भएपनि पठनपाठन नियमित गरेका छौँ’ उहाँले भन्नुभयो ‘सानो उमेरका बिद्यार्थी भएकाले एउटैमा राखेर पठनपाठन गर्न असजिलो भएको छ, यो हाम्रो रहर नभइ बाध्यता हो ।’

उहाँले बिद्यालयमा पक्की भवन नहुदा समस्या भएको बताउनुभयो । ‘हामीसँग बिद्यालयका भवन छन्, तर सबै टिनको छाना भएको भवन छन्, एउटा भवनको छाना हावाले उडायो, अर्को भवन पनि जीर्ण छ’ प्रधानाध्यापक रानाले थप्नुभयो ‘स्थानीयले चासो नदेखाउँदा समस्या भएको छ, झण्डै तीन दशक अघिस्थापना भएको बिद्यालयको अझै आफ्नै जग्गामा छैन्, जग्गा खरिद गर्ने प्रक्रिया बल्ल सुरु भएको छ ।’ यस बिद्यालयमा दरबन्दीका ३ जना, बालविकास १ जना र बिद्यालय सहयोगी १ जना कार्यरत रहनुभएको छ ।

स्थानीय मिलन रानाले बिद्यालय भवनको छाना मर्मतसम्भार गरिदिन माग गरिएको भएपनि बेवास्ता गरिएको बताउनुभयो । ‘हाम्रो बिद्यार्थीले जीर्ण भवनमा बसेर पढिरहेका छन्, बर्खा सुरु हुनै लागेको छ, एउटै कोठामा पढ्न बिद्यार्थीलाई पनि असहज भएको छ, वडा र नगरपालिकासँग हाम्रो माग भनेकै बर्खा अघि नै बिद्यालय मर्मत गरियोस् भन्ने हो’ उहाँले भन्नुभयो ‘अहिले बिद्यार्थीले असहजसँग पढेका छन्, स्थानीय सरकारले तत्काल ध्यान दिओस् ।’ अर्का स्थानीय अमर बहादुर खत्रीले एकसातामै मर्मत हुनुपर्ने बिद्यालय डेढ महिनासम्म पनि छाना नराखिनु राम्रो पक्ष नभएको गुणासो गुर्नभयो ।

नयाँ छाना राख्नको लागि तीन लाख वजेट

हावाहुरीले छाना उडाएको यस बिद्यालयमा जस्तापाता किनेर नयाँ छाना राख्नको लागि बन्गाड कुपिण्डे नगरपालिकाले तीन लाख रुपैँया विनियोजन गरेको छ । एकसाता अघि बसेको नगर कार्यपालिका बैठकले यस बिद्यालयको छाना मर्मतका लागि रकम विनियोजन गरेको हो । तर सम्झौताको काम नहुदा मर्मतसम्भारको काम अघि बढ्न नसकेको बन्गाड कुपिण्डे नगरपालिका–११ का वडाअध्यक्ष बिर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्झौताको तयारी गरिएको भएपनि स्थानीय तहका कर्मचारी आन्दोलनमा रहेकाले काम हुन सकेको छैन् । ‘भवनको छाना उडाएको महिना बढिभैसकेको छ, कार्यपालिका बैठक ढिला बसेकाले वजेट आउन ढिलो भएको हो, बिद्यालयले नै मर्मतसम्भार गर्ने गरि तीन लाख विनियोजन भएको छ, तर कर्मचारी आन्दोलनमा रहेकाले सम्झौता भएको छैन्, शुक्रवारसम्म सम्झौता गर्ने हाम्रो तयारी छ’ उहाँले भन्नुभयो ।

मर्मतसम्भारको सम्झौता भएमा एकसातामा नै नयाँ छाना राखिने उहाँको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस