नयाँ पदमार्गले सुरक्षित ‘कुमाख यात्रा’

कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाको बीचमा अवस्थित यो लेक, अब मात्र एउटा धार्मिक गन्तव्य नभएर कर्णाली प्रदेशकै एक आकर्षक ट्रेकिङ र आन्तरिक पर्यटन केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ ।

सल्यान, १९ जेठ ।
सल्यानको प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्य कुमाख लेकमा पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक लगानी र स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न यो पूर्वाधारले धार्मिक श्रद्धालु, ट्रेकिङ प्रेमी र आन्तरिक पर्यटकहरूका लागि यात्रा थप सहज र सुरक्षित बनाएको छ । कुमाख लेक, एउटा यस्तो नाम जुन सुन्नासाथै धार्मिक श्रद्धा, अपार प्राकृतिक सौन्दर्य, ऐतिहासिक गाथा र पर्यटनको सम्भावना एउटै फ्रेममा बाँधिएर आउँछ । जिल्लाको कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाको बीचमा अवस्थित यो लेक, अब मात्र एउटा धार्मिक गन्तव्य नभएर कर्णाली प्रदेशकै एक आकर्षक ट्रेकिङ र आन्तरिक पर्यटन केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ ।

जिल्लाकै दोस्रो अग्लो भू–भागका रूपमा रहेको कुमाख २,५३७ मिटरको उचाइमा फैलिएको छ । यहाँबाट रुकुम, रोल्पा, बाँके, जाजरकोटलगायत १५ जिल्लाका गाउँबस्ती, पहाड र फाँटहरू एकै नजरमा हेर्न सकिन्छ । यस्तो अद्भुत भौगोलिक विशेषताले गर्दा यो क्षेत्र प्राकृतिक भ्यु–टावरका रूपमा पनि चिनिन्छ । स्थानीयहरूका अनुसार, कुमाखको फेददेखि लेकसम्मको यात्रा लामो समयदेखि जोखिमयुक्त थियो । भक्तजन र पर्यटकहरूले पुरानो गोरेटो बाटो प्रयोग गरेर लेकसम्म पुग्ने गर्थे ।

हालै, प्रदेश सरकारको आर्थिक लगानी र स्थानीयवासीको श्रमदानमा पदमार्ग तथा सिँढी निर्माण कार्य सम्पन्न भएको छ । यसले धार्मिक यात्रा मात्र होइन, ट्रेकिङ र साहसिक घुमफिरका लागि पनि सहजता ल्याएको छ । कुमाख टाउरामा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव मोहन डिसी भन्नुहुन्छ ‘चट्टान फोरेर पदमार्ग बनाइएको छ, यसले जो कोहीलाई मन्दिरसम्म पुग्न सजिलो बनाएको छ, अब पहिला जस्तो जोखिम छैन् ।’ नयाँपदमार्गले कुमाख लेकको यात्रा सहज र सरल बनाएको उहाँको भनाइ छ ।

कुमाख केवल दृश्यावलोकनको गन्तव्य होइन, वर्षेनी हजारौं भक्तजनको आस्थाको केन्द्र पनि हो । मन्दिरका पुजारी खिमलाल डाँगीका अनुसार, यहाँ घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मेला लाग्ने गर्दछ । यो मेलामा सल्यान भित्रका मात्र होइन, छिमेकी जिल्लाबाट पनि श्रद्धालुहरू आउने गर्दछन् । यो मेला धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महत्ववपूर्ण मानिन्छ । साथै, यसले स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्ने गर्दछ ।

कुमाख क्षेत्र प्राकृतिक स्रोतसाधनले पनि भरिपूर्ण छ । यहाँ पाइने बहुमूल्य जडीबुटीहरू, विविध वनस्पति र वन्यजन्तुहरूले यसको जैविक विविधता झल्काउँछन् । साँझपख टुप्पाबाट देखिने रंगीन आकाश, चारैतिर फैलिएको हरियाली र शान्त वातावरणमा रमाउने जंगली जनावरहरूले यो स्थानलाई सजीव बनाउँछन् । स्थानीय लालबहादुर डाँगीले कुमाखमा अझै धेरै पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

सरकारी लगानी, तर निरन्तरताको अपेक्षा

कुमाखको पदमार्ग, सिँढी र मन्दिरको ढोका निर्माण कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित बजेटमा गरिएको हो । डिभिजन वन कार्यालय सल्यान मार्फत योजनाको कार्यान्वयन गरिएको हो । प्रदेश सरकारको १५ लाख रुपैँया र बाँकी स्थानीयको श्रमदान गरि करिब १८ लाख रुपैँयामा पदमार्ग, सिँढी र मन्दिरमा २ वटा ढोका निर्माण गरिएको सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो ।

‘अहिले बनाएको संरचना मात्रै पर्याप्त छैनन्, अझै धेरै संरचना बनाउनुपर्ने आबश्यकता छ, रेलिङ, फिल्ड निर्माण, मन्दिरको पुर्ननिर्माण लगाएतका काम बाँकी छन्, पर्यटन पूर्वाधारको क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर प्रदेश सरकारसँग वजेट माग गरेका छौँ’ उहाँले भन्नुभयो । सरोकारवालाले भने पूर्वाधार निर्माण केवल एक पटकको काम नभई निरन्तर लगानी, प्रचारप्रसार र संरक्षणसँगै पर्यटन सञ्चालनको दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले कुमाखलाई साँचिक्कै पर्यटन गन्तव्य बनाउन प्रचारप्रसार र दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले यदि कुमाखमा केबुलकार बनाउन सकियो भने, आन्तरिक मात्र होइन, बाह्य पर्यटकको संख्या पनि गुणात्मक रूपमा बढ्ने बताउनुभयो । हाल कुमाख मेला हेर्न र मन्दिर दर्शन गर्न करिब डेढ लाख नागरिक हरेक वर्ष पुग्ने गरेका छन् । यस्तो भिड व्यवस्थापन र पर्यटन प्रवद्र्धनका लागि भविष्यमा केबुलकार निर्माणको आवश्यकता महसुस गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस