सल्यान, २१ जेठ ।
‘धेरै समय लगाएर जोत्नुपर्ने खेत, अब हाते ट्याक्टरले केही घण्टामै जोत्न सकिन्छ, गाउँपालिकाको अनुदानले साँच्चै राहत मिल्यो’ तरकारी उत्पादन कृषक समूह छत्रेश्वरी–६ सांघारमुलका सचिव कृपाराम वलीले भन्नुभयो । काँक्रा, सिमी, बोडी, खुर्सानी, तिते करेला लगायतका तरकारी खेती गर्दै आउनु भएका उहाँले अब आधुनिक प्रविधिबाट उत्पादन वृद्धि गर्ने अपेक्षा व्यक्त गर्नुभयो । ‘बर्षमा लाखौँको तरकारी बिक्री हुन्छ, सिँचाईको पिर छैन्, गोरुले जोत्दा लागत बढी हुन्थ्यो, अव हाते ट्याक्टरले सजिलो हुने भयो’ खुसी हुदैँ उहाँले थप्नुभयो ।
छत्रेश्वरी–७ रावत गाउँका किसान रामबहादुर रानाको अनुभव पनि उत्साहजनक छ । ‘गोरु जोत्दा समय धेरै नै लाग्ने गर्छ, बिहान र बेलुका मात्रै जोत्ने हो, घाँस दानापानी नभइ गोरु पाल्न सकिदैन्, एक सिजनमा ५÷७ दिन जोत्नको लागि बर्षभरी गोरु पाल्नुपर्छ, यसले हाम्रो लागत धेरै नै बढाएको छ’ उहाँले भन्नुभयो ‘अव हाते ट्याक्टरले छिटो र सजिलो हुने भयो, आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी रहने छन् भन्ने आसा लागेको छ ।’
कृषिमा आधुनिक प्रविधिको प्रवद्र्धन तथा श्रम लागत घटाउने उद्धेश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा किसानहरूलाई ५० प्रतिशत अनुदानमा खेतबारी जोत्ने मिनि टिलर (हाते ट्याक्टर) उपलब्ध गराइएको छ । गाउँपालिकाले कृषक समूह, सहकारी तथा व्यवसायिक कृषकहरूलाई ३९ वटा हाते ट्याक्टर वितरण गरेको हो । छत्रेश्वरी गाउँपालिका तथा वडा तर्फको कार्यक्रम अनुसार वितरण गरिएका मिनि टिलरले किसानहरूलाई खेतीपातीमा ठूलो सहजता मिल्ने गाउँपालिकाको विश्वास छ ।
भोटेचौरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्धकुमारी खत्रीले किसानहरूलाई मिनि टिलर वितरण गर्नुभएको हो । स्थानीयस्तरमा कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाइ छ । सल्यान जस्तो क्षेत्रमा ठूला ट्याक्टरले जमिन जोत्न सम्भव नहुने भएकाले हाते मेसिनले किसानलाई सुविधा दिने भन्दै उहाँले समूहका सबैले उपयोग गर्न आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष खत्रीले विगतदेखि नै निरन्तर रूपमा कृषि यान्त्रीकरणमा जोड दिइएको भन्दै, माग धेरै भएकाले आगामी वर्षमा पनि छुटेका व्यवसायिक समूह तथा किसानलाई वितरण गरिने जानकारी दिनुभयो । अझै पनि परम्परागत उपकरणको प्रयोग गर्दै आएका किसानहरूले अब आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत उत्पादनमा वृद्धि गर्नुपर्छ भन्ने सोच बनाएका छन् ।
गाउँपालिकाले कृषक समूह तथा किसानहरूलाई दरखास्त आह्वान गरी आयआर्जनमुखी कृषि गर्ने, मेहनती र नियमित रूपमा खेत जोत्दै आएका किसानहरूलाई प्राथमिकतामा राखेर स्थलगत अनुगमन पश्चात छनोट गरेको कृषि विकास शाखाका प्राविधिक सहायक दीपक पुनले जानकारी दिनुभयो । कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि बमोजिम तोकिएको मापदण्ड अनुसार मूल्यांकन गरेर कृषि यन्त्र वितरण गरिएको उहाँको भनाइ छ ।
पुनका अनुसार एउटा हाते ट्याक्टरको कुल मूल्य ४९ हजार ९११ रुपैयाँ रहेको र यसमा कूल लागतको ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको छ भने बाँकी रकम किसानले बुझाएर उपकरण लिएका हुन् । मेसिन वितरण कार्यक्रममा किसानहरूलाई मेसिनको सही प्रयोग, नियमित मर्मत, इन्धनको खपत र सुरक्षाका उपायहरूबारे पनि जानकारी दिइएको थियो ।
श्रमशक्ति घट्दो अवस्थामा रहेका पहाडी गाउँहरूमा यस्ता कार्यक्रमले कृषकहरूको जीवनस्तरमा सुधार ल्याउनुका साथै उत्पादन वृद्धिमा टेवा पु¥याउने गाउँपालिकाले विश्वास लिएको छ । जोत्ने मेसिन भएपछि खेतबारी बाँझो नहुने भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन् ।