सल्यानमा कक्षा २ का शिक्षकका लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न

सल्यान, १८ असार ।
पठन सिप विकासका लागि कक्षा २ का शिक्षकहरूलाई लक्षित गर्दै चार दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । दलित विकास समाज सल्यानको व्यवस्थापन, रुम टु रिडको सहयोग तथा जिल्लाका विभिन्न स्थानीय तहहरूको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत पठन सिप विकासका लागि कक्षा २ का शिक्षकहरूलाई लक्षित गर्दै चार दिने पुनर्ताजगी तालिम श्रीनगरमा सम्पन्न भएको हो ।

तालिम नेपाली भाषा शिक्षणमा आधारित एकीकृत पाठ्यक्रम अनुसार सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षण रणनीति, विधि, ढाँचा तथा राम्रा अभ्यासहरूको पुनरावलोकनसँगै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्थापन पक्षमा सहभागी शिक्षकहरूको क्षमता विकास गरिएको थियो । चार दिनसम्म चलेको तालिममा बागचौर नगरपालिकाका ९, त्रिवेणी गाउँपालिकाका ६, छत्रेश्वरी गाउँपालिकाका ६ र दार्मा गाउँपालिकाका ३ गरी कुल २४ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

हालसम्म साक्षरता कार्यक्रम सल्यानका १९९ विद्यालय र ८ वटा पालिकामा पुगिसकेको छ भने हाल विभिन्न ६ पालिकाका १०१ विद्यालयमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिइएको छ ।

तालिममा सहभागी भएका शिक्षकशिक्षिकाहरूले यस तालिमले आफ्नो शिक्षण पद्धति परिवर्तन गर्न सहयोगी भएको बताएका छन् । यस्ता तालिमले उनीहरूको आत्मविश्वास बढाउने मात्र होइन, कक्षाकोठाको वातावरण समेत परिवर्तन गर्छ । तालिममा सहभागि शिक्षक पवित्रा केसीले यस तालिमले पठनपाठनका कार्यमा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । तालिमको अवधि ल्याम्ब्याएर व्यावहारिक अभ्यासमा अझ समय दिनुपर्ने सहभागिको सुझाव छ ।

समापन समारोहमा बोल्दै दलित विकास समाज सल्यानका अध्यक्ष हेमराज बिकले साक्षरता कार्यक्रम जिल्लामै उत्कृष्ट रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै कार्यक्रमको प्रभावकारिता थप विस्तार भइरहेकाले स्थानीय तहहरूले पनि आवश्यक बजेट विनियोजन र सहज वातावरण सिर्जना गरेर सहयोग गरिरहेको बताउनुभयो । उहाँले शिक्षकहरूको भूमिकालाई महत्वपूर्ण मान्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रम अधिकृत तपेन्द्र वलीका अनुसार, बालबालिकामा पठन सिप र पढ्ने बानीको विकासमार्फत स्वतन्त्र पाठक निर्माण गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमबाट हालसम्म जिल्लाका १३०० भन्दा बढी शिक्षकहरूको पेशागत विकास भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस