
सल्यान, २३ असार ।
हावाहुरीले छाना उडाएको सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११, पाँचआरेमा अवस्थित नवज्योति प्राथमिक बिद्यालयको छाना पुनर्निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिकाबाट विनियोजित तीन लाख रुपैयाँको बजेटबाट भवनको छाना फेरिएको र रंगरोगनसहित पूरै मर्मत कार्य सम्पन्न भएको बिद्यालयले जानकारी दिएको छ ।
गत चैत २७ गते राति आएको हावाहुरीका कारण दुई कोठे भवनको टिनको छाना उडेको थियो । डेढ महिनासम्म मर्मतसम्भार नहुँदा पठनपाठनमा समस्या देखिएको बिद्यालयमा अब भने बालबालिकाहरू पुनः सुरक्षित कक्षा कोठामा फर्किएका छन् । यसअघि गत जेठ १५ गते सल्यान टुडेमा विद्यालयले अझै पाएन छाना शिर्षकको समाचार प्रकाशन भएको थियो । नगरपालिकाले जेठ १९ गते भवन मर्मतका लागि बिद्यालयसँग सम्झौता गरी कार्य सुरु गराएको थियो ।
त्यसको करिब दुई सातामै अर्थात असार ८ गते मर्मत कार्य पूरा भई असार १२ गतेदेखि बिद्यार्थीहरू नयाँ छाना लागेको र रंगरोगन गरिएको भवनमा पढ्न थालेका छन् । बिद्यालयका प्रधानाध्यापक रत्न बहादुर रानाले बिद्यालयको छानामर्मत पश्चात भवन पुरै चिटिक्क परेको बताउनुभयो । अव पठनपाठन सहज ढंगले सञ्चालन हुने उहाँको भनाइ छ । ‘हामीले अस्थायी रूपमा एउटै कोठामा पठनपाठन गर्दै आएका थियौँ, अब सबै कक्षाका बालबालिकालाई छुट्टाछुट्टै कोठामा राख्न पाएका छौँ’ उहाँले भन्नुभयो ।
‘हावाहुरीले उडाएको भवनमा अहिले नयाँ छाना राखेर रंगरोगन गरिएको छ, अब त्यो कोठा प्रयोग गर्न मिल्ने भएको छ, पठनपाठन सहज भएको छ, यसले केही हदसम्म राहत दिएको छ, अहिले बिद्यालयको प्रशासनिक काम र बालविकासका बालबालिकाले त्यही दुई कोठे भवनमा बसेर पढ्दै आएका छन्, तर यो मात्रै पर्याप्त छैन, बिद्यालयमा रहेको अर्को पाँच कोठे भवन निकै जीर्ण अवस्थामा छ, त्यसको मर्मतसम्भार गर्न जरुरी छ’ उहाँले थप्नुभयो ।
उहाँले विगतको तुलनामा यस बिद्यालयमा कयौँ सुधार भएपनि सुधार गर्नुपर्ने अझै धेरै भएको बताउनुभएको छ । उहाँले अघि थप्नुभयो ‘हामीसँग पक्की भवन छैनन्, सबै भवन टिनको छानामै छन्, अबको प्राथमिकता भनेको जीर्ण पाँच कोठे भवनको मर्मत वा नयाँ भवन निर्माणतर्फ ध्यान दिनु हो, विद्यार्थीको संख्या बढ्दो छ, सुरक्षित र सहज कक्षाकोठा उपलब्ध गराउन सकिएन भने शिक्षण सिकाइमा असर पर्छ ।’
कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा बालविकाससहित ५६ जना बिद्यार्थी अध्ययनरत छन् । २०४७ सालमा स्थापना भएको नवज्योति बिद्यालय अझै पनि आफ्नै जग्गा नभएको अवस्थामा सञ्चालन भइरहेको छ । यद्यपि, हालै मात्र जग्गा खरिदको प्रक्रिया सुरु गरिएको बिद्यालय स्रोतले जनाएको छ ।
बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ ले यस बिद्यालयको आन्तरिक सुधार तथा फर्निचर व्यवस्थापनका लागि डेढ लाख रुपैँया विनियोजन गरेको छ । यो रकम आउँदो आर्थिक बर्षमा कार्यान्वयन हुने छ ।