
सल्यान, २६ असार ।
विज्ञान विषय (कक्षा ११ र १२) प्रर्वद्धनका लागि बिद्यालय विकास योजना लागु भएको छ । शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा सल्यानको शारदा नगरपालिका–२ लुहापिङमा रहेको त्रिभुवन जन माध्यमिक बिद्यालयमा विज्ञान विषय प्रर्वद्धनका लागि बिद्यालय विकास योजना यसैबर्षबाट लागु भएको हो । पञ्चबर्षिय योजना अन्र्तगत २०८१/०८२ बाट लागु भएको यो कार्यक्रम २०८५/०८६ सम्म सञ्चालन हुने छ ।
जसबाट बिज्ञान बिषयको सवलीकरण, विद्यार्थीको पहुँच अभिबृद्धि र अध्ययनकै लागि जिल्लाबाहिर जाने प्रवद्धिलाई रोक्न मद्धत मिल्ने बिद्यालयले जनाएको छ । जिल्लामै पहिलो पटक यस बिद्यालयमा विज्ञान बिषय प्रवद्र्धन योजना लागु भएको बिद्यालयका प्रधानाध्यापक माधवविक्रम जिसीले जानकारी दिनुभयो । उहाँले बिद्यार्थी छात्रबृद्धि, होस्टेल, उपचारात्मक कक्षा सञ्चालन, बिज्ञान प्रयोगशाला व्यवस्थापन तथा जनशक्ति परिचालनमा यस योजनाले सहयोग गर्ने बताउनुभयो ।
जस अन्र्तगत यसबर्ष बिज्ञान बिषय कक्षा १२ मा पढ्ने ६ जना बिद्यार्थीलाई प्रतिविद्यार्थी १५ हजारका दरले छात्रबृद्धि वितरण गरिएको छ । ‘जिल्लाको लागि यो महत्वपुर्ण शैक्षिक कार्यक्रम हो, यसले बिज्ञान बिषयमा बिद्यार्थीलाई उत्साहित र आकृषित गर्न मद्धत गर्ने छ, साथै योग्य र सक्षम बिद्यार्थी उत्पादनमा पनि टेवा पुग्ने छ, बिद्यार्थीलाई प्रत्येक बर्ष छात्रबृद्धि वितरण गर्दा उनीहरुले आफ्नो रुचि र चाहाना अनुसारका बिज्ञान सामाग्री किनेर अध्ययन तथा प्रयोग गर्न सक्छन्’ उहाँले भन्नुभयो ।
छात्रा बृद्धि वितरण गर्दै शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनारले विद्यालय विकास योजनामार्फत विज्ञान विषय प्रवद्र्धन हुनु नगरकै लागि गर्वको विषय भएको बताउनुभयो । ‘विज्ञान शिक्षा प्रवद्र्धनका लागि सरकारको समन्वयमा यस्तो कार्यक्रम सुरु हुनु निकै सराहनीय छ, यसले गाउँघरमै बसेर विद्यार्थीले गुणस्तरीय विज्ञान शिक्षा पाउने अवसर पाउने छन्, अब विज्ञान पढ्न भनेर टाढाका सहरतिर जानुपर्ने बाध्यता हट्नेछ’ उहाँले भन्नुभयो ।
उहाँले छात्रवृत्तिको प्रभावबारे उल्लेख गर्दै भन्नुभयो ‘छात्रवृत्तिबाट विद्यार्थीमा अध्ययनप्रतिको रुचि अझै बढ्ने छ, यसले सामाजिक तथा आर्थिक हिसाबले पछि परेका विद्यार्थीलाई पनि अवसरको पहुँचमा ल्याउने काम गर्छ ।’ उहाँले विज्ञान शिक्षा र प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले बिद्यार्थीलाई लगनशिल र मेहनती बनाउन यस योजना महत्वपुर्ण भएको बताउनुभएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका हमालले भन्नुभयो ‘हाम्रो विद्यालयमा विज्ञान विषय प्रवद्र्धनका लागि सरकारले ल्याएको यो विद्यालय विकास योजना अत्यन्त स्वागतयोग्य छ, यो योजना लागू भएसँगै हामीले यहाँका विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक विज्ञान शिक्षा प्रदान गर्ने अवसर पाएका छौं ।’ उहाँले विद्यालयको तर्फबाट सबै अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालालाई धन्यवाद दिँदै यस योजनाको सफल कार्यान्वयनमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
छात्रबृद्धि पाएपछि बिज्ञान बिषयमा अध्ययनरत बिद्यार्थीहरु पनि खुसी भएका छन् । बिद्यार्थी सुजिता वलीले आफुले पाएको छात्रबृद्धि रकमले आफ्नो पठनपाठनका कार्यमा टेवा पुग्ने बताउनुभयो । ‘हामी जिल्लामै बसेर विज्ञान पढ्न पाएका छौँ, छात्रवृत्तिले हाम्रो अध्ययनमा ठूलो हौसला दिएको छ’ उहाँले भन्नुभयो ‘अब हामी आफूले चाहेका विज्ञान उपकरण तथा सामग्री किन्न सक्छौं, प्रयोगशालामा काम गर्न सक्छौं र परीक्षामा राम्रो गर्न अझै मिहिनेत गर्नेछौं ।’
वि.सं. २००८ सालमा स्थापना भएको यस बिद्यालयमा बिज्ञान, कानुन, सिभिल इन्जिजियरिङ तथा शिक्षा समुहमा पठनपाठन भैरहेको छ । बालविकास देखी कक्षा १२ सम्म सञ्चालित यस बिद्यालयमा हाल छ सय बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।