अनुदानले उत्साहित किसान : खसीबोकाले बदल्यो सल्यान

एक समय मजदुरी र वैदेशिक रोजगारीमुखी रहेको सल्यानको ग्रामीण जीवनशैलीमा पछिल्लो केही वर्षयता उल्लेख्य परिवर्तन आएको छ । स्थानीय उत्पादन, विशेषतः बाख्रापालन र दुग्ध व्यवसायलाई गाउँपालिकाले प्राथमिकता दिन थालेपछि किसानहरू व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

सल्यान, ३२ असार ।
एक समय मजदुरी र वैदेशिक रोजगारीमुखी रहेको सल्यानको ग्रामीण जीवनशैलीमा पछिल्लो केही वर्षयता उल्लेख्य परिवर्तन आएको छ । स्थानीय उत्पादन, विशेषतः बाख्रापालन र दुग्ध व्यवसायलाई गाउँपालिकाले प्राथमिकता दिन थालेपछि किसानहरू व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । हालै सार्वजनिक भएको तथ्यांक अनुसार, जिल्लाका त्रिवेणी गाउँपालिका र दार्मा गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा मात्र ५ करोड ३३ लाख ३१ हजार ४८४ रुपैयाँ बराबरका खसी बोका बिक्री भएका छन् ।

त्रिवेणी गाउँपालिकाबाट मात्रै तीन करोड २६ लाख ४३ हजार ६ सय ३ रुपैयाँ बराबरका खसी बोका निकासी भएका छन् भने दार्मा गाउँपालिकाबाट दुई करोड ६ लाख ८७ हजार ८ सय ८४ रुपैयाँको खसी बोका बिक्री भएको छ । दार्मा गाउँपालिकामा एक करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको दूध पनि निकासी भएको छ । गाउँपालिकाले एक लिटर दूध उत्पादन गरेबापत किसानलाई तीन रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ भने प्रदेश सरकारले थप पाँच रुपैयाँ प्रोत्साहन दिँदै आएको छ । यस मार्फत ४१४ जना किसानले अनुदान प्राप्त गरेका छन् ।

दुवै पालिकाले सहकारी मार्फत खसी बोका बिक्री गर्ने किसानलाई प्रतिकिलो आकर्षक अनुदान दिँदै आएका छन् । त्रिवेणी गाउँपालिकाले प्रतिकिलो २० रुपैयाँ र दार्मा गाउँपालिकाले २५ रुपैयाँ अनुदान दिँदै आएका छन् । यसले गर्दा व्यवसायिक बाख्रापालनतर्फ किसानको आकर्षण तीव्र गतिमा बढिरहेको छ । त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतका अनुसार न्यूनतम १०० किलो खसी बिक्री गर्ने ३ सय ८ जना किसानलाई कुल १० लाख ८० हजार ९२० रुपैयाँ अनुदान दिइएको छ ।

यस्तै दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध १२० जना किसानले पाँच लाख २८ हजार २२० रुपैयाँ अनुदान प्राप्त गरेका छन् । ती किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपैयाँ बराबरका खसी बोका निर्यात गरेका हुन् । नमुना सामाजिक उद्यमी महिला सहकारीका ७३ जना किसानलाई दुई लाख ३२ हजार १२० रुपैयाँ अनुदान दिइएको छ भने उनीहरूले ७० लाख ४२ हजार १८४ रुपैयाँको खसी बिक्री गरेका छन् ।

त्यस्तै उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना किसानले एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान प्राप्त गरेका छन् । उनीहरूले ७१ लाख ५२ हजार ४६४ रुपैयाँका खसी निकासी गरेका छन् । त्रिवेणी पशुपालन व्यवसायी सहकारीका ५३ जना किसानलाई एक लाख ३९ हजार ८३९ रुपैयाँ अनुदान दिइएको छ भने उनीहरूले ३८ लाख ३२ हजार १७० रुपैयाँ बराबरका खसी बिक्री गरेका छन् ।

पकेट क्षेत्र विकास, समुहगत बिक्रिको सुविधा

त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखिनै अनुदान कार्यक्रम सुरु गरेको हो । वडा नम्बर २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरिँदै आएको र सहकारी मार्फत बिक्रिको व्यवस्था मिलाइएकाले किसान उत्साहित भएका छन् । ‘यो उपलब्धि सुखद भए पनि अझ धेरै सम्भावना बाँकी छ, अनुदान निरन्तरता, गुणस्तरीय खोर, सुलभ पशुचिकित्सा सेवा र ठोस बजार संरचना बनाइएमा त्रिबेणीमा मात्र होइन, समग्र सल्यान जिल्लाकै बाख्रापालनको केन्द्र बन्न सक्छ’ उहाँले भन्नुभयो ।

दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीका अनुसार पालिकाले तीन वटा वडालाई पकेट क्षेत्रको रुपमा विकास गर्दै समुहगत व्यवसायिक बाख्रापालनमा किसानलाई लगाइरहेको छ । ‘स्थानीय सरकार, सहकारी, निजी क्षेत्र र प्रदेश तथा संघीय सरकारबीचको समन्वयलाई अझ सुदृढ गर्न सकेमा ग्रामीण अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने सम्भावना छ, किसानको उत्पादनमा सरकारले अनुदान दिदा किसानलाई थप प्रोत्साहन मिलेको छ’ उहाँले भन्नुभयो ‘कृषि र पशुपालनक्षेत्रमा व्यावसायिकता अति आवश्यक छ ।’

जिल्लाभरबाट ७० करोडको खसी निकासी

पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानका प्रमुख गोविन्द महतका अनुसार सल्यान जिल्लाबाट वार्षिक ३० हजार ५ सय खसी बोका निकासी हुने गरेका छन् । जसबाट किसानहरूले ७० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । जिल्लाबाट निकासी भएका खसी बोका दाङ, सुर्खेत, नेपालगञ्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका शहरहरूमा पठाइन्छ ।

सरकारी अनुदान, सहकारीको सशक्तिकरण र पकेट क्षेत्रको विकासमार्फत व्यवसायिक बाख्रापालनको मार्गमा उकालो चढिरहेको सल्यान, अब कृषि निर्भर ग्रामीण अर्थतन्त्र सुदृढीकरणको नयाँ उदाहरण बन्दै गएको छ । जिल्लामा उत्पादित खसीबोकाको माग पनि उच्च छ ।

प्रतिक्रिया दिनुहोस