
सल्यान, २९ कार्तिक ।
सल्यानका पत्रकार बुद्धि पुनलाई ‘शारदा पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जनसूचना प्रवाह, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा वितरण, विकास व्यवस्थापन तथा स्थानीय शासन सुदृढीकरणजस्ता महत्वपूर्ण क्षेत्रलाई समेटेर गरेको काममा जनमुखी पत्रकारितामार्फत उल्लेखनीय योगदान पु¥याएको भन्दै शारदा नगरपालिकाले पत्रकार पुनलाई ‘शारदा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।
शनिबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच पत्रकार पुनलाई नगद रु.२५,००० सहित दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको हो । नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार र प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकाटाले संयुक्त रूपमा पुनलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नगरका जनप्रतिनिधि, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधि सहित सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पत्रकारितालाई समाजको ऐना मात्र नभई सुशासनको आधारभूत स्तम्भका रूपमा चित्रण गर्दै पुनले गरेको अनुसन्धानात्मक र उत्तरदायी पत्रकारिताले शारदा नगरपालिकाको पारदर्शिता तथा जवाफदेहितामा महत्वपूर्ण भूमिका खेलेको नगरपालिकाको भनाइ छ । १२ वर्षदेखि सक्रिय रूपमा पत्रकारितामा क्रियाशील रहेका पुन नेपाल पत्रकार महासंघ सल्यान शाखाका सचिव हुनुहुन्छ । रेडियो राप्ती एफएमका समाचार प्रमुखका रूपमा कार्यरत पुन नयाँ युगवोध राष्ट्रिय दैनिक, सल्यान टुडे लगायतका राष्ट्रिय तथा स्थानीय मिडियामा आवद्ध हुँदै निरन्तर कलम चलाउँदै आउनुभएको छ ।
सम्मान ग्रहणपछि पत्रकार पुनले नगरपालिकाले गरेको सम्मानले आफूमा थप जिम्मेवारी र उत्साह थपिएको बताउँदै स्थानीय समस्याहरू उजागर गर्न, जनताको आवाज बुलन्द बनाउन र सुशासन अभिवृद्धिमा पत्रकारितामार्फत निरन्तर योगदान पु¥याइरहने प्रतिबद्धता जनाउनुभयो । शारदा नगरपालिकाले स्थापना गरेको यो वार्षिक पुरस्कारले स्थानीय तहमा पत्रकारिताको भूमिका र प्रभावलाई सम्मान गर्ने परम्परालाई बलियो बनाउँदै लग्ने विश्वास गरिएको छ ।