सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोगको असर : ह्वात्तै घट्यो उत्पादन

हरेक नयाँ आर्थिक वर्षको सुरुवातसँगै अनुदान खोज्दै किसानको लाइन लाग्ने गर्छ । तर नियमित छाँटाइ, मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण र सिँचाइमा ध्यान नदिँदा जिल्लाका धेरै सुन्तला बगैंचा वर्षेनी हराउँदै जान थालेका छन् । ‘कतिपय बोट सुकिसकेका छन् भने केही सुक्ने क्रममा छन्’ उहाँले थप्नुभयो ‘किसानहरू आम्दानीको हिसाब मात्रै गर्छन्, तर बगैंचा जोगाउने आधारभूत व्यवस्थापनमा चुकिरहेका छन् ।

सल्यान, १७ पुस ।
सल्यानको बागचौर नगरपालिका–८ कोटमौलाका भरतनाथ योगीले सुन्तलाखेती गर्न थालेको करिब चार दशक भयो । सुरुमा घरमै खानका लागि २/४ बोट सुन्तला लगाएका योगीसँग अहिले ९५० बोट सुन्तला छ । गएको सिजनमा मात्रै ४३७ क्विन्टल सुन्तला बेचेर करिब ३३ लाख रुपैयाँ आम्दानी गर्नुभएका उहाँमा यसवर्ष त्यति उत्साह छैन् । बोटमै सानो फल लाग्दा चिन्तामा पर्नुभएका उहाँलाई बोट सुक्ने समस्याले झन् पिरोलेको छ ।

‘आम्दानीको स्रोत भनेकै सुन्तला खेती हो, वर्षमा लाखौँ आम्दानी हुन्छ, घर खर्च र वचत यहीबाट हुने हो, स्थानीयले रोजगारी यसैबाट पाउने हुन्, यो वर्ष राम्रो फल लागेन्, आधाजति सानो फल छ, मुश्किलले ३०० क्विन्टल हुन्छ कि भन्ने आस छ, बेच्न थालेको छैन्, व्यापारी आएभने मुल्य निर्धारण हुन्छ’ उहाँले भन्नुभयो ‘विगतमा पनि अलिअलि समस्या थियो, गएको भदौँबाट सुन्तलामा धेरै समस्या आयो, पात पहेँलो हुने, बोट सुक्ने समस्या देखिएको छ ।’

डाँगीगाउँका जीवन डाँगीले पनि सुन्तला रोपेको तीन दशक भयो । मकैँगहुँ रोप्ने वारीका छेउघारीमा सुन्तला रोप्नुभएका उहाँले व्यावसायिक खेती गर्न थालेको एक दशक भयो । गएको बर्ष २०० क्विन्टल सुन्तला बेचेर करिब १८ लाख रुपैँया आम्दानी गर्नुभएका उहाँको उत्पादनमा यस वर्ष ७५ प्रतिशतले गिरावट आएको छ । पोहोरको तुलनामा यस वर्ष ५० क्विन्टल सुन्तला बनाउन पनि धौँ भएको उहाँको भनाइ छ ।

४५० बोट सुन्तला भएका उहाँको बगैंचामा पनि सुन्तला झर्ने, पात पहेँलो हुने, हाँगा सुक्ने र अन्ततः बोट नै सुक्ने समस्या देखिएको छ । ‘बगैचामा समस्या देखिएपछि कृषि कार्यालयमा जानकारी गराएका थियौँ, निलोतुथो, चुना लगाएका तत्व राखौँ, तर केही पार लागेन्, मेरो त आधा बगैंचा सखाप भैसकेको छ’ दुखी हुँदै उहाँले भन्नुभयो ‘राम्रो आम्दानी हुने आसले सुन्तला खेतीमा लागेका हौँ, जलवायु परिवर्तनले होला, पहिले तल्लो भेगका सुन्तलामा देखिने रोग अहिले माथिल्लो भेगमा पनि सरेको छ ।’ रोगको व्यवस्थापन नभए सुन्तला खेती नै सखाप हुने उहाँको भनाइ छ ।

विगत ८/१० बर्षदेखी सुन्तला खेती थाल्नुभएका बथानका प्रेम प्रकाश शर्माको बगैंचामा पनि सोचेअनुसारको फल छैन् । १५० बोट सुन्तलाबाट गएको वर्ष १० क्विन्टल उत्पादन भएको थियो । ‘मैले रोपेका बोट जवान भइसकेका छैनन्, गएको वर्ष ठिकै थियो, यो वर्ष फल नै लागेन्, लागेको पनि झरेर सखाप भयो’ उहाँले भन्नुभयो ‘नयाँ बगैंचा विस्तार गरेकाले अर्को वर्ष राम्रो उत्पादन र आम्दानी हुन्छ भन्ने आस गरेको छु ।’

यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ । बगैंचामा रोगको प्रकोप बढेसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय सल्यानको अनुमान छ । अहिले करिब ३५ प्रतिशत सुन्तला बिक्री भैसकेको छ भने कोटमौला लगाएतका क्षेत्रमा सुन्तला टिप्नै बाँकी रहेकाले आधिकारिक तथ्यांक आउन केही समय लाग्ने छ । सुन्तला उत्पादन हुने कोटमौला, चाँदे, दमाचौर, फलाबाङ लगाएतका क्षेत्रको निरीक्षणले उत्पादन घट्ने निश्चित भएको हो ।

जिल्लामा पुराना र साना विरुवा सहित १६७५ हेक्टरमा सुन्तला खेती छ । गत आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक हेर्दा सुन्तला उत्पादन दिने क्षेत्रफल १००२ हेक्टरमा खेती गरिएको थियो । जसबाट ८६०२ मेट्रिकटन सुन्तला उत्पादन हुदा करिब ४१ करोड रुपैयाँ किसानले हात पारेका थिए । अघिल्लो वर्ष ९८२ हेक्टरमा सुन्तला खेति गरिदा ७४८० मेट्रिकटन उत्पादन भएको थियो । तर यस वर्ष भने करिब ६५०० मेट्रिकटन उत्पादन हुने आँकलन गरिएको छ ।

सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोगको गम्भीर चुनौती

सुन्तलामा देखिने अत्यन्त हानिकारक व्याक्टेरियाजन्य रोग सिट्रस ग्रिनिङ्गले सल्यानका किसानलाई गम्भीर समस्यामा पारेको छ । यो रोग सिट्रस सिल्ला नामक कीराबाट सर्ने गर्दछ, जुन प्रायः ११०० मिटरभन्दा कम उचाइका तातो क्षेत्रहरूमा बढी पाइने भएपनि जिल्लाको करिब १५०० मिटर उचाइसम्म फैलिएको छ । यसले एक पटक बगैंचामा प्रवेश गरेपछि समयमै नियन्त्रण गर्न नसके सम्पूर्ण बगैंचा नै नष्ट बनाउँछ ।

यो रोग लाग्दा पातको नशाबीचको भाग पहेँलो हुने तर नशा हरियै रहने, पात सानो हुने तथा बोट टुप्पोबाट सुक्न थाल्ने लक्षण देखिन्छन् । यस्ता लक्षण जिंकको कमीसँग मिल्दोजुल्दो भए पनि जिंक प्रयोग गर्दा सुधार नआएमा सिट्रस ग्रिनिङ्ग रोग भएको बुझ्न सकिन्छ । रोगी बोटमा बेमौसममा फूल र फल लाग्ने, फल सानो र आकर्षणहीन हुने, गुदी असमान हुने तथा बीउ राम्रो नबन्ने समस्या देखिन्छ । यसले उत्पादन क्रमशः घट्दै अन्ततः बोट नै सुक्ने अवस्था ल्याउँछ ।

केही समयअघि जिल्लाका ५० सुन्तला बगैंचाको नमुना संकलन गरि पिसिआर परिक्षण गरिएको थियो । तीमध्ये ३५ को रिपोर्ट पोजिटिभ आयो । यस रिपोर्टले जिल्लाका सुन्तला बगैंचाको समयमै उचित व्यवस्थापन अनिवार्य देखाएको छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार यस रोगको हालसम्म कुनै उपचार छैन् । त्यसैले रोकथाम नै प्रभावकारी उपाय हो । रोगमुक्त र प्रमाणित बिरुवा प्रयोग गर्ने, रोगी बोट तुरुन्त नष्ट गर्ने, स्क्रिन हाउसमा बेर्ना उत्पादन गर्ने तथा सिट्रस सिल्ला कीराको नियमित निगरानी र व्यवस्थापन गर्नुपर्ने सुझाव उहाँको छ । समयमै सचेतना अपनाएमा यस रोगको जोखिम न्यून गर्न सकिने उहाँको भनाइ छ ।

‘यस रोगको उपचार छैन्, तर बोटको आयु केही बढाउन सकिन्छ, मलिलो माटो, मल, सिँचाई लगाएतका तत्वको व्यवस्थापन गर्न सके रोगी विरुवाको आयु बढाउन सकिन्छ, थोरै भएपनि आम्दानी २/४ बर्षसम्म रहला तर निरोगी बोट जस्तो हुदैन्’ उहाँ भन्नुहुन्छ ‘रोग लागेका बोट हटाउनु नै पर्छ, तर एउटा किसानले गरेर हुदैन्, यो ब्याक्टेरियाबाट सर्ने भएकाले छिमेकीको बगैंचाबाट सर्ने सम्भावना पनि उतिकै हुन्छ, यसमा सबै किसान लाग्नुपर्छ ।’ हाल जिल्लामा गुलाबी रोगसँगै सिट्रस ग्रिनिङ्ग रोग तीव्र रूपमा फैलिएको छ ।

अनुदान लिन्छन्, सुझाव लिदैनन्

जिल्लामा करिब एक हजार किसान व्यावसायिक रूपमा सुन्तला खेतीमा संलग्न छन् । जिल्लामा उत्पादन हुने कुल सुन्तलामध्ये करिब एकतिहाई उत्पादन कोटमौला क्षेत्रले धानेको छ । किसानहरू सुन्तला खेतीप्रति उत्साहित देखिए पनि पछिल्लो समय उनीहरू अनुदानमुखी बन्दै गएको कृषि विकास कार्यालयका प्रमुख आचार्यको अनुभव छ । उहाँका अनुसार नर्सरी व्यवस्थापन, सिँचाइ, मलखाद, बिरुवा तथा अन्य कृषि सामग्रीका लागि किसानहरू कार्यालयसँग नजिक भए पनि प्राविधिक सुझावलाई भने गम्भीरतापूर्वक नलिने प्रवृत्ति बढ्दो छ ।

‘एकल वा सामूहिक रूपमा हेर्दा सुन्तला खेतीमा कुनै न कुनै शीर्षकमा अनुदान नपाउने किसान सायदै होलान्’ उहाँ भन्नुहुन्छ ‘अनुदान लिने बेला देखिने सक्रियता बगैंचा व्यवस्थापनमा भने देखिँदैन ।’ हरेक नयाँ आर्थिक वर्षको सुरुवातसँगै अनुदान खोज्दै किसानको लाइन लाग्ने गर्छ । तर नियमित छाँटाइ, मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण र सिँचाइमा ध्यान नदिँदा जिल्लाका धेरै सुन्तला बगैंचा वर्षेनी हराउँदै जान थालेका छन् । ‘कतिपय बोट सुकिसकेका छन् भने केही सुक्ने क्रममा छन्’ उहाँले थप्नुभयो ‘किसानहरू आम्दानीको हिसाब मात्रै गर्छन्, तर बगैंचा जोगाउने आधारभूत व्यवस्थापनमा चुकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस