विद्यार्थी भर्ना अभियान : कतै सुरु, कतै अझै अन्यौल !

परीक्षा सकिएको लामो समयसम्म विद्यार्थीहरू नियमित पढाइमा नजोडिँदा उनीहरूको अध्ययन लय बिग्रने चिन्ता पनि बढ्दो छ । शिक्षासँग सम्बन्धित सरोकारवालाहरूका अनुसार यस्तो अवस्थामा बालबालिकामा सिकाइ क्षति हुने, पढ्ने बानी कमजोर हुने र अनुशासनमा असर पर्ने जोखिम उच्च हुन्छ । भर्ना अभियानमा देखिएको असमन्वय र ढिलाइले प्रशासनिक कमजोरी मात्र नभई समग्र शैक्षिक वातावरणमै असर पार्ने संकेत देखिएको छ ।

सल्यान, ११ बैशाख ।

नयाँ शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै गर्दा सल्यानमा विद्यार्थी भर्ना अभियान एकनास हुन सकेको छैन् । कतै भर्ना अभियान सुरु भइसकेको छ भने कतै अझै अन्यौलता कायमै छ । यसले अभिभावक र विद्यार्थी दुवैलाई अलमलमा पारिरहेको छ । सरकारले शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने, सोही दिनदेखि भर्ना अभियान चलाउने र वैशाख २१ गतेदेखि देशभर पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सोहीअनुसार सबै स्थानीय तह र विद्यालयलाई निर्देशनसमेत दिएको छ ।

तर केन्द्रीय निर्देशनभन्दा अघि नै जिल्लाको शारदा नगरपालिकाले आफ्नै तालिका अनुसार भर्ना अभियान सुरु गरेको छ । नगरपालिकाले बिहीबार (वैशाख १०) देखि नै विद्यार्थी भर्ना अभियान सुरु गरेको हो । नगर शिक्षा समितिको बैशाख ८ गते बसेको बैठकले स्थानीय आवश्यकता र अभिभावकको मागलाई आधार मानेर समयतालिका परिमार्जन गरेको जनाउँदै केन्द्रको मितिभन्दा पाँच दिन अघि नै भर्ना सुरु गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले सूचना जारी गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई वैशाख १० गतेदेखि भर्ना अभियान सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । यद्यपि पठनपाठन भने केन्द्रकै निर्णयअनुसार वैशाख २१ गतेदेखि सुरु हुने जनाइएको छ । स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्दै निर्णय गरेको दाबी गरे पनि भित्री रूपमा भने विद्यार्थी बाहिरिने प्रवृत्ति, निजी विद्यालयको ‘गुपचुप’ भर्ना र बढ्दो प्रतिस्पर्धाले दबाब सिर्जना गरेपछि हतारमा अभियान सुरु गरिएको स्रोतको भनाइ छ ।

दश स्थानीय तह रहेको सल्यानमा बाँकी नौँ स्थानीय तहमा भने भर्ना अभियान अझै सुरु भएको छैन् । कतिपय स्थानीय तहले संघीय सरकारकै तालिका पछ्याउने बताएका छन् भने केहीमा अझै स्पष्ट निर्णय हुन सकेको छैन् । विगतका वर्षहरूमा वैशाख २ गतेदेखि नै भर्ना र पठनपाठन सँगसँगै सुरु हुने गरेकोमा यसपटक भने पेट्रोलियम पदार्थको अभाव र विद्यालयको शैक्षिक कार्ययोजना निर्माणको कारण देखाउँदै भर्ना अभियान करिब दुई साता ढिलो गरिएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यस ढिलाइले शैक्षिक गुणस्तरमै प्रश्न उठ्न थालेको छ । एक शैक्षिक सत्रमा न्यूनतम २२० दिन कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था रहे पनि ढिलो सुरु र साताको दुई दिन बिदा दिने निर्णयले कोर्स पूरा गर्नसमेत चुनौती थपिने देखिएको छ । यता, भर्ना प्रक्रिया स्पष्ट नहुँदा अभिभावकहरू गम्भीर अन्यौलमा परेका छन् । कुन विद्यालय रोज्ने, कहिले भर्ना गर्ने भन्नेमा नै अभिभावक अन्यौलता छ ।

परीक्षा सकिएको लामो समयसम्म विद्यार्थीहरू नियमित पढाइमा नजोडिँदा उनीहरूको अध्ययन लय बिग्रने चिन्ता पनि बढ्दो छ । शिक्षासँग सम्बन्धित सरोकारवालाहरूका अनुसार यस्तो अवस्थामा बालबालिकामा सिकाइ क्षति हुने, पढ्ने बानी कमजोर हुने र अनुशासनमा असर पर्ने जोखिम उच्च हुन्छ । भर्ना अभियानमा देखिएको असमन्वय र ढिलाइले प्रशासनिक कमजोरी मात्र नभई समग्र शैक्षिक वातावरणमै असर पार्ने संकेत देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस