
सल्यान, २३ जेठ ।
जीवन कहिलेकाहीँ यति कठोर मोडमा पुग्छ कि त्यहाँ आशा पनि हराइसकेको जस्तो लाग्छ । न पैसा हुन्छ, न सहारा, न उपचारको पहुँच । तर त्यही निराशाको घडीमा कसैले मानवताको हात बढाइदियो भने त्यो हात भगवानभन्दा कम हुँदैन । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ महानेटाका ५१ वर्षीय जगदिस खत्रीको जीवनमा यस्तै एउटा हात बनेका छन्, आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र महानेटाका प्रमुख (बैद्य) विजयकुमार घर्ती ।
गत माघ ५ गतेको चिसो बिहान जगदिस खत्रीका लागि जीवनकै सबैभन्दा पीडादायी दिन बन्यो । घरको चुलोमा आगो तापिरहेका उनी अचानक चक्कर लागेर सोझै बलिरहेको आगोमा खसे । आगोले उनको बायाँ हात, ढाड र शरीरका विभिन्न भाग गम्भीर रूपमा जलायो । शरीरमा लगाएका कपडासमेत जलेर छालासँग टाँसिए । असह्य पीडामा चिच्याइरहेका उनलाई उद्धार गर्ने पहिलो व्यक्ति थिइन् उनकी ८२ वर्षीया वृद्ध आमा कली खत्री ।
वृद्ध शरीर, कमजोर आँखा र थाकेको उमेर हुँदाहुँदै पनि आमाले छोरालाई आगोबाट निकालिन् । गाउँलेहरू जुटे, प्राथमिक उपचार भयो र तत्काल जिल्ला अस्पताल सल्यान पुर्याइयो । अस्पतालमा जाँचपछि चिकित्सकहरूले अवस्था गम्भीर रहेको भन्दै तत्काल काठमाडौँस्थित विशेषज्ञ अस्पतालमा लैजान सिफारिस गरे । जलनको घाउ गहिरो थियो, संक्रमणको जोखिम उच्च थियो र उपचारका लागि लाखौँ रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो ।
तर गरिबीले थिचिएको त्यो परिवारका लागि काठमाडौँ पुग्ने बाटो अस्पतालले देखाएजस्तो सजिलो थिएन । घरमा आमाछोरा मात्रै, कमाउने कोही थिएन । बिहान–साँझको छाक जुटाउनै मुस्किल पर्ने परिवारले लाखौँ रुपैयाँ खर्च गरेर राजधानी पुग्ने कल्पनासमेत गर्न सकेन । वृद्ध आमाले छोरालाई बचाउने चाहना राखेकी थिइन्, तर आर्थिक अभाव अगाडि त्यो चाहना निरीह बन्यो ।

अन्ततः उपचारको आशा बोकेर अस्पताल पुगेका जगदिस घर फर्किए । घर फर्किएपछि उनको अवस्था झनै बिग्रिँदै गयो । जलनका घाउहरू पाक्न थाले । संक्रमण बढ्दै गयो । शरीरभरि पीडा थियो । गाउँलेहरू र आफन्तसमेतले उनको जीवन बच्ने सम्भावना न्यून देख्न थालेका थिए । यहीबीच यो घटनाको खबर पुग्यो आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्र महानेटाका प्रमुख (बैद्य) विजयकुमार घर्तीसम्म ।
घटनाबारे सुनेपछि घर्तीले बिरामीलाई नियतिको भरोसामा छोड्न सक्नु भएन् । सुरुमा आफ्नै घरमा राखेर उपचार गर्ने सोच बनाउनुभयो । तर खत्री परिवारले घरमै बसेर उपचार गरिदिन आग्रह गरे । त्यसपछि बैद्य घर्तीले मानवताको एउटा असाधारण उदाहरण प्रस्तुत गर्नुभयो । ‘पैसा भए दिनुहोला, नभए नदिनुहोस्’ भन्दै उहाँले उपचार सुरु गर्नुभयो । आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट उपलब्ध हुने औषधि निःशुल्क उपलब्ध गराउनुभयो ।
आवश्यक एलोपेथिक औषधि, ड्रेसिङ सामग्री र अन्य स्वास्थ्य सामग्री श्रीनगर, तुलसीपुर र बुटवलबाट समेत खरिद गरियो । ती सामग्रीको खर्च आफैँले व्यहोर्नुभयो । त्यसपछि सुरु भयो चार महिनासम्मको निरन्तर उपचार यात्रा । हरेक बिहान र साँझ उहाँ बिरामीको घर पुग्नुहुन्थ्यो । घाउ सफा गर्ने, ड्रेसिङ गर्ने, औषधि खुवाउँने, स्वास्थ्य अवस्था जाँच्ने र परिवारलाई हौसला दिने उहाँको दैनिकी नै थियो ।
कहिले आयुर्वेदिक विधि, कहिले एलोपेथिक उपचार, आवश्यकता अनुसार दुवै पद्धतिको संयोजन गर्दै उहाँले उपचारलाई निरन्तरता दिनुभयो । चार महिनाको अथक प्रयासपछि अहिले जगदिसको जलन घाउ करिब ९५ प्रतिशत निको भएको छ । ‘उहाँलाई पहिलो पटक देख्दा धेरैले बाँच्दैनन् भन्ने ठानेका थिए’ बैद्य घर्तीले विगत सम्झदै भन्नुभयो ‘यति धेरै जलेको बिरामी पूर्ण रूपमा निको हुन्छ भन्ने मलाई पनि ठ्याक्कै विश्वास थिएन, तर निरन्तर उपचार र हेरचाह गरियो भने केही सुधार हुन्छ कि भन्ने आशा भने थियो, आज त्यो आशा यथार्थमा परिणत भएको छ ।’

जगदिसको जीवन कथा आफैँमा पीडाले भरिएको छ । शारीरिक रूपमा कमजोर उनी हिँडडुल गर्न पनि लौरोको सहारा लिन्छन् । जीवनमा दुई पटक विवाह गरे पनि अहिले उनी एक्लै छन् । उनका दाजुभाइ अलग्गै बस्छन् । बेला–बेला सहयोग गरे पनि उनीहरू स्वयं आर्थिक रूपमा सबल छैनन् । घरमा वृद्ध आमा र उनी मात्रै छन् । आमा आफैँ अर्काको सहारा चाहिने उमेरमा पुगिसकेकी छन् । छोराको उपचार, खानपान र दैनिक जीवन धान्न उनलाई संघर्षकै जीवन बाँच्नुपरेको छ ।
जलनका घाउहरू निको हुने चरणमा पुगेका छन्, तर गरिबीको घाउ अझै उस्तै छ । ‘अब शरीरको घाउ निको हुँदैछ’ घर्तीले थप्नुभयो ‘तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर छ, उपचारपछि पनि उनीहरूको जीवनयापन ठूलो चुनौती बनेको छ ।’ स्थानीयवासीहरूका अनुसार घर्तीले यसअघि पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका धेरै नागरिकलाई सहयोग गर्दै आउनुभएको छ । सरकारी सेवाभन्दा बाहिर गएर मानवीय जिम्मेवारी निभाउने उहाँको प्रयासले धेरै परिवारलाई राहत मिलेको छ ।
जगदिस खत्री अहिले पहिलेभन्दा धेरै सुधार भएका छन् । मृत्युको मुखबाट फर्किएका उनी नयाँ जीवन पाएजस्तै महसुस गरिरहेका छन् । तर उनको परिवार अझै पनि सहयोगको प्रतीक्षामा छ । वृद्ध आमाको एउटै चाहना छ ‘बाँचेको जीवन छोराले सहज रूपमा बिताउन पाओस् ।’ जगदिसको पनि एउटै आशा छ ‘उपचार त भयो, अब दैनिक जीवन चलाउन कसैले साथ दिओस् ।’

महानेटाको एउटा सानो गाउँमा घटेको यो घटना केवल जलनका बिरामी निको भएको उदाहरण मात्र होइन । यो मानवता, करुणा र सेवाभावको उदाहरण हो । जहाँ राज्यको पहुँच कमजोर भएको ठाउँमा एउटा स्वास्थ्यकर्मीले आफ्नो पेशागत दायित्वभन्दा माथि उठेर निभाएको मानवीय उत्तरदायित्वले एउटा जीवन बचाएको छ । आज जगदिसको शरीरमा रहेका घाउहरू निको हुँदैछन् । तर उनको जीवनमा फेरि मुस्कान फर्काउने जिम्मेवारी समाजको काँधमा आइपुगेको छ । आखिर, मानवताको सबैभन्दा ठूलो अर्थ नै कठिन घडीमा कसैको सहारा बन्नु होइन र ?