
सल्यान, १५ असार ।
आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न संघसंस्थाले रोपाइँ गर्दै दही चिउरा खाएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । सल्यानमा भने फरक तरिकाले धान दिवस मनाइएको छ । शारदा नगरपालिका १ श्रीनगरमा रहेको मोर्डन तुल्सी सेकेण्डरी स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो । विद्यालयले धान दिवसको सन्दर्भ पारेर शुक्रवार सांगार मुलमा विद्यार्थीलाई धान, खेत र हिलोको महत्वबारे बुझायो ।
त्यसपछि सुरु भयो– मुख्य आकर्षण धान रोप्ने काम । यहाँको खेतमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले धान रोप्न सिके । विद्यार्थीलाई शिक्षकशिक्षिका र किसानले सिकाइ सहजीकरण गरे । धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरु गरे ।

विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र यो कार्य त्यसैको निरन्तरता भएको बिद्यालयका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र डाँगीले जानकारी दिनुभयो । विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरूले बताए ।
बिद्यालयका अनुसार यसअघि विद्यार्थीलाई विभिन्न वालीनालीको खेती गर्न तथा विभिन्न सिप सिकाउने गरिएको बिद्यालयले जनाएको छ । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । तदनुसार उनीहरूलाई सिकाउन थालिएको विद्यालयले जनाएको छ ।
