
सल्यान, २० असार ।
मुक्तिनाथ विकास बैंकले जिल्ला अस्पताल सल्यानलाई १० थान ह्वील चियर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा उपचारका लागि आउने अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिँडडुल गर्न कठिनाइ भएका बिरामीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले शुक्रबार ह्वील चियर हस्तान्तरण गरेको हो ।
ह्वील चियर हस्तान्तरण गर्दै मुक्तिनाथ विकास बैंकका श्रीनगर शाखा प्रमुख बसन्तबहादुर के.एम.ले बैंकले नाफामुखी कारोबारसँगै समाजप्रतिको उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै अस्पताललाई प्रदान गरिएको ह्वील चियरले सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘मुक्तिनाथ विकास बैंकले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ, उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो ज्येष्ठ नागरिक, अशक्त तथा हिँडडुल गर्न कठिनाइ भएका हुनुहुन्छ, उहाँहरूलाई अस्पतालभित्र सहज रूपमा आवतजावत गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले १० थान ह्वील चियर हस्तान्तरण गरेका हौँ, आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता रहनेछ’ उहाँले भन्नुभयो ।
ह्वील चियर ग्रहण गर्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढा मगरले बैंकको सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले अस्पतालमा दैनिक रूपमा आउने बिरामीमध्ये धेरैलाई ह्वील चियरको आवश्यकता पर्ने भएकाले प्राप्त सहयोग निकै उपयोगी हुने उल्लेख गर्नुभयो । स्वास्थ्य सेवा कार्यालयका अनुसार प्राप्त ह्वील चियर अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको आवश्यकताअनुसार प्रयोगमा ल्याइनेछ ।
‘जिल्ला अस्पतालमा दैनिक रूपमा विभिन्न उमेर समूहका बिरामी उपचारका लागि आउनुहुन्छ, विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दुर्घटनामा परेका तथा हिँडडुल गर्न नसक्ने बिरामीका लागि ह्वील चियर अत्यन्त आवश्यक पर्ने साधन हो, मुक्तिनाथ विकास बैंकले प्रदान गरेको १० थान ह्वील चियरले बिरामीलाई सेवा दिन सहज हुने मात्र होइन, अस्पतालको सेवा व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउनेछ, सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगका लागि बैंकप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ’ डा. बुढा मगरले भन्नुभयो ।
यस सहयोगबाट विशेष गरी अशक्त, ज्येष्ठ नागरिक तथा आकस्मिक सेवाका बिरामीलाई अस्पतालभित्र सुरक्षित र सहज रूपमा आवतजावत गर्न उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका प्रतिनिधि, स्वास्थ्य सेवा कार्यालयका कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।