महेन्द्र रत्न मावि पिपलनेटामा एक लाख बढीको अक्षयकोष स्थापना

सल्यान, २० असार ।

सल्यानको शारदा नगरपालिका–४ पिपलनेटास्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सहयोगका लागि एक लाखभन्दा बढी रकमको अक्षयकोष स्थापना गरिएको छ । शारदा नगरपालिका–४ साहिलाकम्द निवासी स्वर्गीय खिमबहादुर कवरको स्मृतिमा उहाँको परिवारले एक लाख एक हजार एक सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । उक्त कोषबाट विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष सहयोग प्रदान गरिने जनाइएको छ ।

स्वर्गीय कवरको शिक्षा प्रतिको योगदान र समाजसेवाको भावनालाई निरन्तरता दिने उद्देश्यले उहाँकी आमा कुमारी कवर, पत्नी शारदा कवर, छोरा विनोद कवर र बिजन कवर, बुहारी सम्झना कवर र सुनिता कवर तथा छोरी बिन्दु कवरले संयुक्त रूपमा अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोष हस्तान्तरणसँगै परिवारले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ । यस्ता सहयोगले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई उत्साह मिल्नुका साथै शिक्षाप्रति थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रकाश हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शारदा नगरपालिका–४ का वडाध्यक्ष किशोरकुमार हमाल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतले शिक्षा क्षेत्रमा निजी तथा पारिवारिक योगदानको महत्वबारे धारणा राख्नुभएको थियो । वक्ताहरूले समाजमा शिक्षाको विकासका लागि स्थापना गरिएको अक्षयकोषले विपन्न तथा प्रतिभावान विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक ललित पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस