७२ बर्षमा पनि छैन् नागरिकता

१६ बर्षको उमेर पुगेपछि नेपाली नागरिकता पाउने हरेक नागरिकको नैसर्गिक अधिकार भएपनि उहाँले भने ७२ बर्षको उमेर हुदाँसम्म नागरिकता पाउन सक्नुभएको छैन् । नागरिकता बनाउनको लागि धेरै पटक वडा हुदैँ प्रशासनसम्म गुहारेपनि उहाँले अझै नागरिकता पाउन सक्नुभएको छैन् ।

सल्यान, २६ साउन ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ बस्नेउराका लोकी कुमारी बुढा नेपाली नागरिकता पाउनबाट बञ्चित हुनुभएको छ । १६ बर्षको उमेर पुगेपछि नेपाली नागरिकता पाउने हरेक नागरिकको नैसर्गिक अधिकार भएपनि उहाँले भने ७२ बर्षको उमेर हुदाँसम्म नागरिकता पाउन सक्नुभएको छैन् । नागरिकता बनाउनको लागि धेरै पटक वडा हुदैँ प्रशासनसम्म गुहारेपनि उहाँले अझै नागरिकता पाउन सक्नुभएको छैन् ।

सानै उमेरमा बुवाको मृत्यु भएपछि उहाँ आमा नेपकली र दिदी शिवकलीसँग बस्दै आउनुभएको थियो । पछि दिदीको विहे बस्नेउरामै भयो । दिदीभिनाजुको घरमा उहाँहरु बस्दै आउनुभयो । समयक्रमसँगै आमाको पनि मृत्यु भयो । त्यसपछि उहाँले २/३ ठाउँमा विहे गरेर जानुभयो तर श्रीमान र परिवारसँग सम्बन्ध राम्रो नभएपछि उहाँ दिदीको घरमा नै आएर बस्न थाल्नुभयो । त्यो बेला उहाँको नागरिकता भएन्, छोराछोरी पनि भएनन् । करिब १६/१७ बर्षकै उमेरमा विहे गरेको र करिब ५० बर्षबढी भैसकेकाले उहाँको उताको परिवारसँग कुनै चिनजान पनि छैन्, साइनो, सम्बन्ध पनि छैन् ।

विहे गरेर गएको ठाउँमा लडेर ढाँड बाँचिदा पनि घरपरिवारले बेवास्ता गरेपछि उहाँ दिदीको घरमा आएर बस्न थालेको आफन्त बताउँछन् । दिदीको घरमा बस्दै आउनुभएकी उहाँलाई अहिले बुढेसकालले छोएको छ । ढाँडमा चोट लागेपछि उहाँको पछाडीको ढाडको हड्डी बाहिर निस्किएको छ । उहाँ कुप्रो गरेर हिड्नुहुन्छ । शारिरीक रुपमा समेत अशक्त रहनुभएकी उहाँले हाल घरायसी कामकाज र घर वरपर बाहेक अरु गर्न सक्नुहुदैन् ।

बुवा रतु बुढा र आमा नेपकली बुढा भएपनि सानैमा अभिभावक गुमाएकाले लोकी अझै बेसाहारा हुनुहुन्छ । स्थानीय समाजसेवि दोर्ण कुमार यरीका अनुसार आजभोली लोकी सोही वडाकै अम्रा गाउँमा बस्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएको र नागरिकता नहुदा सामाजिक सुरक्षाभत्ता समेत नआउने भएपछि उहाँ आफन्तको घर–घरमा जाने र एकगाँस खानको लागि काम गर्दै आउनुभएको छ । लोकीलाई नागरिकता दिलाउन सके सामाजिक सुरक्षा भत्ता आउने र खानबस्नकै लागि आफन्तीको घर चाहार्ने अवस्थाको अन्त्य हुने यरीको भनाइ छ ।

‘लोकी कुमारीको अवस्था निकै दयनीय छ, अहिले एक गास खानकै लागि संघर्ष गरिरहनुभएको छ, उहाँको दिदीको जन्म २००५ सालको रहिछ, यदी दिदीभन्दा ५ बर्ष कान्छी भएपनि उहाँको उमेर ७२ बर्ष पुरा हुन्छ, तर सानैदेखी अभिभावक कोही नहुदा बेसाहारा जीवन गुजार्दै आउनुभएको छ’ यरीले भन्नुभयो ‘शारिरीक रुपमा अशक्त हुनुहुन्छ, मानसिक रुपमा समेत असर पर्न थालेको छ, यदी बृद्धभत्ता मात्रै पाउने हो भनेपछि आफन्तीहरुले उहाँको हेरचाह र रेखदेख गर्नसक्ने सम्भावना छ, सम्बन्धित निकायले नागरिकता बनाउने कार्यमा सहजीकरण गर्न जरुरी छ ।’

बन्गाड कुपिण्डे नगरपालिका–१ का वडाअध्यक्ष थुम बहादुर विसीले कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बञ्चित हुन नहुने बताउनुभयो । उहाँले वडाभित्रै बसोबास गर्ने लोकी कुमारीको नागरिकता बनाउने सवालमा आवाज उठेको र आवश्यक सहजीकरण गरिने बताउनुभयो । ‘उहाँ (लोकी कुमारी) मेरै वडाको नागरिक हुनुहुन्छ, अहिलेसम्म नागरिकता रहिन्छ, अव उहाँको नागरिकता बनाउनुपर्छ भनेर पर्यत्न गरिरहेका छौँ, यसमा वडाको तर्फबाट हुनसक्ने सक्दो पर्यत्न हुन्छ’ उहाँले भन्नुभयो ।

यता जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा रहेको कोही नागरिक नेपाली नागरिकता पाउनबाट बञ्चित भएको भए, उनीहरुको लागि आवश्यक सहजीकरण गरेर नागरिकता उपलब्ध गराउने जनाएको छ । सम्बन्धित व्यक्तिको परिवार र वडाकार्यालय सँग समन्वय गरेर अघि बढ्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस