सल्यानमा हुदैन् सर्प उद्धार : सर्पदंश बढ्दै – महिला बढी जोखिममा !

सर्प उद्धारकर्ता नहुँदा ग्रामीण बासिन्दाले अन्धविश्वास, डर वा आक्रोशमा आएर सर्प मार्ने गरेका छन् । यसले मानिसको सुरक्षामा त खतरा छँदैछ, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा पनि असर पुगिरहेको छ । सरकार र सरोकारवाला निकायहरूलाई अब स्थानीय तहमा सर्प उद्धारका लागि जनशक्ति उत्पादन र चेतना अभिवृद्धिको अभियान थाल्न आवश्यक छ ।

सल्यान, ५ असोज ।

सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पाकी ६६ बर्षिया रामकली रेउलेलाई साउन १७ गते सर्पले डस्यो । घरमा पालेका बस्तुभाउको लागि घाँस काट्ने क्रममा घर नजिकै उहाँलाई सर्पले डसेको हो । सर्पले डसेपछि रामकली आत्तिदै घर पुग्नुभयो । परिवारको सहयोगमा घरायसी उपचार भन्दा पनि हतार–हतार जिल्ला अस्पताल सल्यानमा आउनुभयो । डाक्टरको निगरानीमा सफल उपचार भएपछि निको भएर घर फर्किनुभयो ।

त्रिबेणी गाउँपालिका–४ फलाबाङका इन्द्र बहादुर रेउलेलाई पनि सर्पले डस्यो । ४६ बर्षिय रेउलेलाई साउन ११ गते घाँस काट्दै गर्दा सर्पले डसेको हो । सर्पले डसेपछि आत्तिएका उहाँ र परिवारले घरैमा झारफुक भन्दा पनि अस्पतालमा गए बिरामीको ज्यान जोखिममा नपर्ने निष्कर्ष सहित जिल्ला अस्पतालमा आउनुभयो । केही घण्टाको अस्पतालको बसाई पनि उहाँ निको भएर घर फर्किनुभयो ।

रामकली र इन्द्र बहादुर त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । पछिल्लो समय जिल्लामा दैनिकजसो सर्पदंशका घटना हुने गरेका छन् । अधिकांश जिल्लाका नागरिक कृषि पेशामा आवद्ध भएका र घाँस दाउरा, स्याउला, गोठाला जाँदा सर्पले डस्ने गरेको पाइन्छ । यसबाट पुरुष भन्दा महिला बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल सल्यानको तथ्यांक अनुसार जिल्लामा दैनिक सर्पदंशका घटना घट्ने गरेको देखाउँछ ।

सर्पले डसेपछि अधिकांश उपचारका लागि अस्पतालमा आउँछन् भने दाङ र सुर्खेतसँग नजिक भएका बस्तीका नागरिक जिल्ला बाहिर जान्छन् । यस्तै केहीले घरैमा झारफुक गर्ने गरेको पनि पाइएको छ । यही साउन र भदौँ महिनामा मात्रै ४२ जना सर्पदंशका विरामी अस्पतालमा आएका छन् । जसले पनि दैनिकजसो घटना हुने गरेको पुष्टि हुन्छ । अस्पतालका ईमर्जेन्सी इन्चार्ज जीवन पुनका अनुसार गएको भदौँ महिनामा मात्रै २५ जना सर्पदंशका विरामी उपचारका लागि आएका छन् ।

यसमा महिला २२ जना र पुरुष ३ जना रहेका छन् । यस्तै साउन महिलामा १७ जना सर्पदंशका विरामी उपचारका लागि आएका छन् । उपचारका लागि आएकामध्ये १४ जना महिला छन् भने पुरष तीन जनामा मात्रै छन् । अस्पतालमा उपचारका लागि आएका सबै विरामी निको भएर फर्किएका छन् । यो अवधिमा कुनै पनि विरामीको सर्पदंशका कारण मृत्यु भएको छैन् ।

गएको बर्षपनि जिल्लामा सर्पदंशका विरामी धेरै छन् । एकबर्षको अवधिमा ९८ जना महिला र ३१ जना पुरुष गरेर १२९ जना विरामी उपचारका लागि आएका छन् । विगतमा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नहुदा नागरिक दाङ वा सुर्खेत जाने गरेका थिए । तर पछिल्लो समय अस्पतालले नै सेवा विस्तार गरेपछि उपचारमा आउने विरामीको संख्या धेरै रहेको छ ।

ईमर्जेन्सी इन्चार्ज पुनले सर्पदशंका विरामी र आफन्तहरु आत्तिएर अस्पतालमा आउने गरेको बताउनुभयो । ‘धेरै नागरिक कृषिमा आवद्ध भएकाले घाँसदाउरा, गोठाला गएको बेला सर्पले डसेको पाइन्छ, सर्पले डसेपछि नागरिक आत्तिएर अस्पताल आउनुहुन्छ, तर सबै सर्प विषालु हुदैनन्, कस्तो सर्पले डसेको हो भन्ने एकिन भयो भने, उपचार गर्न पनि सहिजो हुन्छ, सर्पअनुसारको जोखिम पनि कम हुन्छ’ उहाँले भन्नुभयो ‘हामीले विरामी र उनको आफन्तलाई नआत्तिन आग्रह गर्दै चेकजाँच र उपचारको काम अघि बढाउँछौँ ।’

अस्पतालका डा. बुद्धिनाथ शाहले गर्मीयाममा सर्पदंशको जोखिम बढी हुने गरेको बताउनुभयो । ‘जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी धेरै आउने गरेका छन्, जिल्लामा प्राय हरियो सर्पले डसेका घटना धेरै छन्, अत्यधिक बिषालु सर्पको रुपमा गोमन र करेत पाइन्छन्’ उहाँले भन्नुभयो ‘विगतमा तराई क्षेत्रमा मात्रै पाइने बिषालु सर्प अहिले पहाडी जिल्लामा पनि पाइन्छन्, हरियो सर्प कम बिषालु सर्पमा पर्छ ।’

उहाँले अधिकांश नागरिक कृषिको काममा व्यस्त हुने भएकाले सर्पले हातखुट्टामा डसेका घटना धेरै भएको बताउनुभयो । ‘अस्पताल आएका विरामीमध्ये केही अस्पतालमा भर्ना गरेर उपचार गरिन्छ, मुख्यतः सर्पको टोकाइबाट बच्नु नै उत्तम हो, धेरैसर्प भान्सा तथा सुत्ने कोठामा मुसा, भ्यागुता लगाएत आहाराको खोजीमा आउने गरेकाले जोखिम धेरै हुन्छ, झाडी हटाउने, सरसफाइ गर्ने, हातखुट्टामा पुरा बाहुला भएको कपडा लागाउने, बुट लगाउने, सुत्दा झुल लगाउने गर्नुपर्छ’ उहाँले थप्नुभयो । जडिबुटी वा धामीझाँक्रीमा भर नपरी बिरामीलाई सकेसम्म चाँडो अस्पताल लैजानुपर्ने उहाँको सुझाव छ ।

सर्पले डसेका विरामीको उपचारमा जति ढिला गर्यो, त्यति नै ज्यान जोखिममा पर्ने गरेको अस्पताल बताउँछ । डाक्टरका अनुसार सर्पले डसेको ठाउँमा सुन्निने, घाउ हुने, घाउ पाकेर चिलाउनेजस्ता लक्षण देखिन्छन् । विशेषतः गोमन र करेत सर्पले डसेमा स्नायु प्रणालीमा असर परि वान्ता हुने, वाकवाकी लाग्ने, अचेत अवस्था हुँदै जाने, बिस्तारै आँखाको परेली माथि हेर्न नसक्ने, श्वासप्रश्वास बन्द हुनेजस्ता लक्षण देखिन्छन् । सर्पले डसेमा घाउँ नबाँध्ने, घरेलु उपचार तथा जडिबुडि नराख्ने र तत्काल अस्पताल जानुपर्ने डाक्टर बताउँछन् ।

सल्यानमा हुदैन् सर्प उद्धार

जिल्लामा सर्पदंशका घटना दिनप्रतिदिन बढ्दो भएपनि सर्प उद्धार गर्ने तालिम प्राप्त व्यक्ति वा संस्था भने छैनन् । घर, गोठ वा खेतमा सर्प देखिए पनि स्थानीयहरू आफैंले लखेट्ने वन मार्ने काम गरिरहेका छन् । विशेषतः मुसा, भ्यागुता आदि सिकार गर्न सर्प घरभित्र छिर्ने भएकाले जोखिम अझै बढेको छ । तर सर्प विषालु नहुन पनि सक्छ भन्ने चेतनाको अभावले मानिसहरू डरले तर्सिन्छन् ।

बिषालु सर्पको पहिचान, सुरक्षित रूपमा सर्प उद्धार गर्ने तालिम र उपकरणसहितको टिमको खाँचो सल्यानमा निकै ठूलो छ । डाक्टरहरू भन्छन् ‘सर्पले मानिसलाई ज्यान मार्नभन्दा बढी बच्न चाहन्छ, त्यसैले सर्पलाई पनि नमारौं, सुरक्षित उद्धार होस् ।’ सर्प उद्धारकर्ता नहुँदा ग्रामीण बासिन्दाले अन्धविश्वास, डर वा आक्रोशमा आएर सर्प मार्ने गरेका छन् । यसले मानिसको सुरक्षामा त खतरा छँदैछ, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा पनि असर पुगिरहेको छ । सरकार र सरोकारवाला निकायहरूलाई अब स्थानीय तहमा सर्प उद्धारका लागि जनशक्ति उत्पादन र चेतना अभिवृद्धिको अभियान थाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस