
सल्यान, ३ मंसिर ।
सल्यानमा सामुदायिक विपद् प्रतिकार्य तथा आपतकालिन क्रियाकलाप तालिम सुरु भएको छ । नेपालमा दिगो जलवायु–यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सबलीकरण तथा जलवायु–उत्थानशील स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत आइपास नेपालको आर्थिक सहयोग तथा दलित विकास समाज सल्यानको आयोजनामा सञ्चालित चार दिने तालिम मंगलबार शारदा नगरपालिका–६ बरलामा सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले विपद् प्रतिकार्यमा स्थानीय तह, समुदाय र युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस प्रकारका तालिमले समुदायलाई बलियो, सक्षम र दिगो बनाउने उल्लेख गर्नुभयो । ‘आगलागी, भुकम्प, पहिरो, सुख्खापन, चट्याङजस्ता घटनाले हाम्रो गाउँ–ठाउँलाई बारम्बार चुनौती दिइरहेका छन्, यस्तो बेला स्थानीय संरचना, स्थानीय नेतृत्व र स्थानीय जनशक्ति नै पहिलो उद्धारकर्ता हुन्छन्, त्यसैले यो तालिम केवल औपचारिक कार्यक्रम होइन, यसले समुदायलाई संकटका घडीमा कसरी जोगिने, एक–अर्कालाई सहयोग गर्ने र प्रभावकारी प्रतिकार्य योजना लागू गर्ने सीप दिने छ’ उहाँले भन्नुभयो ।
यस्तै जलवायु सम्बन्धी जोखिमप्रति सचेतना वृद्धि गर्ने, विशेष गरी दिगो यौन तथा प्रजनन् स्वास्थ्य सेवामा पनि समान पहुँच सुनिश्चित गर्न यो तालिम सहयोगी बन्ने उहाँको भनाइ छ । उहाँले अघि थप्नुभयो ‘शारदा नगरपालिकाले विगत देखी नै विपदमा हुने जोखिम र क्षतिको अध्ययन गरेको छ, सीप भएका स्वयंसेवक, तालिम प्राप्त समूह, यूवा जगत वा स्थानीयवासीहरू सक्रिय हुँदा धेरै ठूलो क्षति टार्न सकिन्छ, आज सुरु भएको यो तालिमले सहभागीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउँदै दिगो स्वास्थ्य तथा विपद् प्रतिकार्य तन्त्र निर्माणमा टेवा पु¥याउनेछ, नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग र समन्वय गर्दै जानेछौँ ।’
दलित विकास समाजका अध्यक्ष हेमराज विकको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सशस्त्र प्रहरी बल सल्यान आश्रित गुल्मका प्रमुख डिएसपी समिर गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमाल, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रतिनिधि नरेश सिंहठकुरी, नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री इन्द्रकुमार शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनलगायतको आतिथ्यता रहेको थियो ।
चार दिने तालिममा सल्यानको शारदा नगरपालिका, बागचौर नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका कुल २४ जना सहभागी रहेका छन् । तालिममा सहभागीहरूले विपद् आउने पहिले, विपद् आएको बेलामा र विपद् गएकोपछि गर्नुपर्ने प्रतिकार्यका व्यावहारिक सीप सिक्नेछन् । तालिममार्फत विपद् पहिचान तथा जोखिम मूल्यांकन, समुदायमै जोखिमयुक्त क्षेत्र र कमजोर समूह चिन्ने कौशल, प्राथमिक उपचार, घाइतेलाई सुरक्षित रूपमा सार्ने विधि र दैनिक जीवनमा चाहिने आपतकालीन तयारीका प्रक्रियाहरू प्रशिक्षण दिइने छ ।
त्यसका अतिरिक्त बाढी–पहिरो, आगलागी वा भूकम्पजस्ता घटनामा उद्धार गर्ने तरिका, स्थानीय सामाग्री प्रयोग गरी सुरक्षित बचाउ प्रविधि, सुरक्षित स्थानान्तरण लगायतका सीपहरू पनि सिकाइने छ । भने विपद्को बेला गर्भवती, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई कसरी प्राथमिकता र सुरक्षा दिने भन्ने विषयलाई विशेष महत्व दिइने आयोजकले जनाएको छ ।
तालिममा सैद्धान्तिक सँगै व्यवहारिक रुपमा उद्धार, प्रतिकार्य, प्राथमिक उपचार तथा समन्वयका कार्यहरूको अभ्यास गराइने छ । दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परियोजना संयोजक आदर्श अधिकारीले गर्नुभएको थियो ।