जनकल्याण आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैंकद्वारा विद्युतीय पानी फिल्टर सहयोग


सल्यान, २३ असार ।
विद्यार्थीलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले मुक्तिनाथ विकास बैंक, शाखा कार्यालय श्रीनगर सल्यानले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शारदा नगरपालिका–५ तल्लामार्केस्थित जनकल्याण आधारभूत विद्यालयलाई चार थान विद्युतीय पानी फिल्टर हस्तान्तरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले प्रदान गरेको फिल्टर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । फिल्टर जडान भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीले शुद्ध र सुरक्षित खानेपानी पिउन पाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर रेउलेले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीको स्वास्थ्य संरक्षण र विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै शिक्षाजस्ता संवेदनशील क्षेत्रमा सहयोग गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाका शाखा प्रबन्धक बसन्त बहादुर के.एम.ले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा बैंकले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालय तथा समुदायको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षक गोविन्द थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक कृष्णबहादुर वलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शंकर थापा, बसन्ती बस्नेत, चन्द्रा रेउले, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस