कोठा अभावले सर र बिद्यार्थी एउटैमा !

हावाले उडायो बिद्यालयको छाना

सल्यान १४, असार ।
झ्वाट्ट हेर्दा अफिस जस्तै थियो । कोठामा केही थान टेवुल र कुर्सी थिए । कुर्सीमा शिक्षकशिक्षिका बसेका थिए । छेउमा दराज थियो । केही पुस्तक थिए । केही अफिसियल सामाग्री थिए । छेउमा भाँडाकुँडा पनि थिए । तर नजिकैँ ह्वाइट वोर्ड र मार्कर थियो । दुई थान बेन्च थिए । त्यसैमा बसेर दुइ जना बिद्यार्थीले पढिरहेका थिए ।

शुरुमा हेर्दा बिद्यालयको प्रशासन कार्यालय होकी बिद्यार्थी पढ्ने कक्षाकोठा जो कोही पनि झुक्किन्थेँ । यो बिद्यालयको प्रशासन कार्यालय र बिद्यार्थीहरुले पढ्ने कक्षाकोठा हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा रहेको सरस्वती बिद्या मन्दिर प्राथामिक बिद्यालयको वास्तविकता हो यो । हावाले बिद्यालयको छाना उडाएपछि अहिले शिक्षकशिक्षिका र बिद्यार्थीहरु एउटै कोठामा बस्दै आएका छन् ।

०४९ सालमा स्थापना भएको बिद्यालय कक्षा पाँच सम्म सञ्चालित छ । बिद्यालयमा तीन वटा भवन छन् । जेठ २८ गते आएको हावाहुरीले दुइ कोठे भवनको छाना उडाएपछि कक्षाकोठाको अभावमा शिक्षकशिक्षिका र बिद्यार्थीहरु एउटै कोठामा बस्दै आएको बिद्यालय प्रशासनले जनाएको छ । हावाले बिद्यालयको छाना उडाएको झण्डै तीन साता हुन लाग्दा समेत मर्मत नहुदाँ यसरी नै बिद्यालय सञ्चालन हुदैँ आएको जनाइएको छ ।

कक्षाकोठा अभावमा ३ कक्षामा पढ्ने बिद्यार्थीहरुलाई अफिसमै राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मोहनलाल बिष्टले बताउनुभयो । ‘जेठ २८ गतेको हावाले बिद्यालयको छाना उडाएको छ, दिउँसोमा गर्मी धेरै हुनेभएपछि खुला आकाशमुनी बिद्यार्थीलाई राखेर पढाउन सकेनौँ, छाना विनाको भवनमा राख्दा ढुंगा खस्ने डर भयो, त्यही भएर अफिसमै राखेर बिद्यार्थी पढाउदैँ आएका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले भवनको छाना राखिदिन माग गर्दै शारदा नगरपालिका सँगै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको भएपनि कसैले सहयोग नगरेको बताउनुभयो । ‘प्रहरी मुचुल्का सहित नगरपालिकामा जाँदा यो बर्ष हुदैँन्, नयाँ बजेटमा सोचौँला भन्ने जवाफ आयो’ उहाँले थप्नुभयो ‘जिल्ला प्रशासन सम्म पनि पुगियो तर त्यहाँबाट पनि केही सहयोग नपाइने रहिछ ।’ भवनको मर्मत गरेर छाना नराख्ने हो भने बर्खाको पानीले भवन भत्किने र बिद्यालयलाई थप लाखौँको क्षति हुने उहाँको भनाइ छ ।

न भुइँ कार्पेट, न डेस्कबेन्च !
बिद्यालयमा बिद्यार्थी बस्नको लागि उपयुक्त बेन्चडेस्क छैनन्, न त भुइँ कार्पेट छ । कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयको एउटा कोठामा मात्रै भुई खाट छ । तर त्यसमाथिको कार्पेट पनि च्यातिएको, पुरानो, फोहोर छ । अरु कक्षा कोठामा बेन्च मात्रै छन् डेस्क छैनन् । शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्दा बिद्यार्थीमैत्री कक्षाकोठा हुनु आवश्यक छ ।

तर बिद्यार्थी बस्ने बेन्च र डेस्कको उचाई बराबर छ । केही कोठामा भने बिद्यार्थीको सहजताको लागि बेन्चकै मुनि ढुंगा राखेर डेस्क बनाउन खाजिएको छ । ‘यो बिद्यालयको रहन नभइ बाध्यता हो, बिद्यालयका सबै संरचना जीर्ण छन्’ प्रधानाध्यापक बिष्टले भन्नुभयो ‘म सरुवा भएर आएको केही महिना मात्रै भएको छ, बिद्यालयमा बालमैत्री संरचना छैनन् भने बिद्यार्थीबाट गुणस्तरीय शिक्षाको आस गर्नु व्यर्थ हुन्छ ।’

उहाँका अनुसार बिद्यालयका भवन जीर्ण छन् । खेलमैदान छैन् । शौचालय छ, व्यवस्थित छैन् । खानेपानी छैन् । घेरवार छैन् । बिद्यालय सम्म जाने बाटो छैन् । जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिती, अभिभावक लगाएतको सहयोग विना बिद्यालयको सुधार गर्न नसकिने उहाँको भनाइ छ ।

कक्षा ५ मा शून्य बिद्यार्थी
कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा जम्मा १६ जना बिद्यार्थी छन् । कक्षा १ मा ३ जना बिद्यार्थी छन् । कक्षा २ मा ३ जना, कक्षा ३ मा ४ जना र कक्षा ४ मा ६ जना बिद्यार्थी रहेका छन् । तर कक्षा ५ मा भने शून्य बिद्यार्थी रहेका छन् । यस्तै वालविकासमा ५ जना बिद्यार्थी छन् । यस्तै स्थायी दरबन्दी २, अस्थायी दरबन्दी १, बालबिकास २ र कार्यालय सहयोगी सहित ६ जना कर्मचारी छन् ।

२०५८ सालमा यस बिद्यालयमा १ सय ८० जना बिद्यार्थी थिए भने २०६० सालमा १ सय २१ जना बिद्यार्थी थिए । तर अहिले बिद्यालयमा बिद्यार्थीको संख्या अत्यन्त न्युन छ । प्रधानाध्यापक बिष्टले भने यस बर्ष बिद्यालयमा बिद्यार्थीको संख्या बढेको बताउनुहुन्छ । गत बर्ष ९ जना मात्रै रहेको यस बिद्यालयमा अहिले १६ जना बिद्यार्थी पुगेको उहाँको भनाइ छ ।

अभिभावकहरुको संस्थागत बिद्यालय प्रतिको मोहका कारण विद्यार्थी संख्या अत्यन्तै कम भएको शिक्षकहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस