सल्यान ११, मंसिर ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, पिपल जिपुको कुनाखेत मेला यही मंसिर २३ देखि २७ गते सम्म लाग्ने भएको छ । मेला व्यवस्थापन समितिले विभिन्न खेलकुद कार्यक्रम, साँस्कृतिक झाँकी सहित ५ दिन सम्म मेला लगाउने गरी निर्णय गरेको हो । वडाको भेलाबाट कर्णबहादुर खत्रीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । मेला तथा मेलामा आयोजित विभिन्न कार्यक्रम सफल बनाउन ५ वटा विभाग समेत गठन गरिएको छ । डिलबहादुर नाथ संयोजक रहेको खेलकुद विभाग, जनकुमारी खत्री संयोजक रहेको आर्थिक विभाग, लालसिङ खत्री संयोजक रहेको साँस्कृतिक विभाग गठन गरिएको छ ।
यसैगरी अर्जुन खत्री संयोजक रहेको सूचना तथा सञ्चार विभाग र धनबहादुर खत्री संयोजक रहेको सुरक्षा विभाग गठन गरिएको छ । परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित बनाउन विभिन्न विभाग समेत गठन गरिएको संयोजक कर्णबहादुर खत्रीले बताउनुभयो ।
२३ गतेदेखि खेलकुद कार्यक्रम हुने र मंसिर २७ गते दिउसोबाट २८ गते विहान सम्म मुख्य मेला लाग्ने खत्रीले जानकारी दिनुभयो । मेलामा परम्परागत झाँकीहरु, नाचगान सहित, सिंगारु, मयुर, पैसेरु, दमाहा नाच, महिलाको मात्रै सिंगारु नाच देखाइने छ । यसको साथै अरु नाच तथा गीत प्रस्तुत गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।
कुनाखेत मेलामा साँस्कृतिक कार्यक्रमको साथै खेलकुद कार्यक्रम पनि राखिएको छ । यो मेला जिल्लाको पुराना मध्यको मेलामा पर्दछ । हरेक मंसिरे पूर्णिमको अवसर पारी कुनाखेतमा मेला लाग्छ भने मेला लाग्ने ठाउँमा रहेको मन्दिरमा पूजाअर्चना गर्नाले सोचेको पूरा हुने जन विश्वास रहि आएको छ । मेलामा रुकुम पश्चिमका साथै जाजरकोट, सुर्खेत, रुकुम पूर्वबाट समेत सर्वसाधारणहरु आउने गर्दछन् ।