सल्यान ७, फागुन ।
सल्यानमा आँखा उपचार केन्द्र स्थापना भएपछि करिब ५० जना नागरिकले सेवा प्राप्त गरेका छन् । सन् २००७ मा सल्यानको खलंगामा आँखा उपचार केन्द्र स्थापना भएको थियो । पछि सन् २०१२ मा जिल्लाको शारदा नगरपालिका १ शितलपाटीबाट केन्द्रले सेवा प्रदान गरेको थियो ।
यस अबधिलाई हेर्ने हो भने करिब ५० हजार बढी नागरिकले सेवा प्राप्त गरेका छन् । केन्द्रमा नै आएर होस या बिभिन्न आँखा शिबिरमा पुगेर होस् उनीहरुले सेवा प्राप्त गरिरहेका छन् । शुरु शुरुमा आँखामा समस्या आएमा आँखा उपचार केन्द्रमा आएर आँखाको जाँच तथा औषधि उपचार गर्ने चलन जिल्लामा थिएन् । उनीहरुले घरमा घरेलु औषधि तथा धामीझाँक्री कहाँ पुगेर झारफुक गर्ने चलन थियो ।
चेतनाको कमीका कारण होस या अन्धबिश्वासका कारण होस, मानिसहरु आँखाको हेरचाहमा वास्ता गर्दैन्थे । आँखा उपचार केन्द्रको स्थापनाकालमा दैनिक ३÷४ बिरामीहरु मात्रै उपचारका लागी आउने गर्दथेँ । अहिले चेतनाको बृद्धि सँगै बिभिन्न कारणले दैनिक करिब २५ जनाको हाराहारीमा बिरामी आउँछन् ।
आँखाको हेरचाह गर्ने, सुरक्षा गर्ने र खानपिनमा पनि ध्यान दिनेको संख्या बढेको छ । बास्तवमा आँखा अत्यन्तै संवेदनशील र सजिलौसँग संक्रमण हुने अंग हो । धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति र्पुयाउँन सक्छ । यसकारण आँखालाई सधै स्वस्थ राख्नु पर्दछ । आँखा उपचार केन्द्र शितलपाटीका बरिष्ट नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तका अनुसार आखाँलाई स्वास्थ्य राख्नका लागि नियमित चेक जाँच गर्नुको साथै आँखालाई प्रत्यक्ष हानी र्पुयाउने चिजबाट समेत सचेत रहनुपर्छ ।
आँखा उपचार केन्द्र शितलपाटीले बिभिन्न क्षेत्र सँग समन्वय गरेर ग्रामिण क्षेत्रहरुमा पनि आँखा शिविर सञ्चालन गर्दै आएको छ । बरिष्ट नेत्र स्वास्थ्य कार्यकर्ता पन्तको सक्रियताका जिल्लाका दुर्गम क्षेत्र कालीमाटी काल्चे देखी निगालचुला, बाफुखोला, खार्वन लगाएतका बिभिन्न क्षेत्रहरुमा आँखा शिविर सञ्चालन गरिएको छ । सल्यानको पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. ले आँखा उपचार केन्द्र शितलपाटीको सक्रियतामा आफ्नो बार्षिक उत्सवका अबशरमा जिल्लाका बिभिन्न ठाँउमा आँखा शिबिर सञ्चालन गर्ने घोषणा गर्दै आएको छ ।
आर्थिक तथा गरिबीका कारण आँखा उपचार केन्द्र शितलपाटी सम्म आउन नसक्ने बिरामीहरुलाई ग्रामिण क्षेत्रमा नै पुगेर उपचार गर्दा उनीहरु खुसी हुन्छन् । करिब १० बर्षको सल्यान बसाईका क्रममा बरिष्ट नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले आँखा उपचारको केन्द्रमा खेलेको भुमिका महत्वपूर्ण छ । यस बर्ष मात्रै २ सय १८ जना मोतिया बिन्दु भएका आँखाका बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको छ । तर पन्तको कपिलबस्तुमा सरुवा भएको छ ।
उहाँका अनुसार आँखामा समस्या नआउदा सम्म कतिपय व्यक्तिले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आईपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ । उमेर बढ्दै जदाँ मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ । यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले नियमित आँखा चेकजाँच गर्नु पर्छ भने अझै ४० वर्ष पुगेपछि आँखाको बिषेश ख्याल गरी नियमित आँखा जँचाइरहनुपर्छ ।
चस्माले आँखालाई धूलो, धूवाँ, कीटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ । बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका बिभिन्न रंगका चश्माले विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ । तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ ।
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ ।
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्वमा भिटामिन ए महत्वपूर्ण मानिन्छ । जुन तत्त्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ए रेटिनाका लागि अति आवश्यक तत्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गोमा पाइन्छ ।
धूम्रपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूम्रपान त्याग्नुपर्छ ।
कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ । धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन । जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ ।
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्व प्राप्त गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ । समय समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ ।