सल्यान १९, फागुन ।
सल्यानका ६ स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालका रुपमा बिकास गरिने भएको छ । ‘एक पालिका, एक अस्पताल’ बनाउने सरकारको निती अनुरुप सल्यानका ६ वटा स्थानीय तहमा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल बनाइने भएको हो ।
सल्यान सहित देशभर २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो जानकारी दिनुभएको हो । अघिल्लो वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ ।
यस बर्ष जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नती गरिने भएको छ । यस्तै दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको मर्मपरिकाँडा स्वास्थ्य चौकी, सिद्ध कुमाख गाउँपालिकाको कालालेख स्वास्थ्य चौकी, कपुरकोट गाउँपालिकाको कपुरकोट स्वास्थ्य चौकी र कालिमाटी गाउँपालिकाको कालिमाटी स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।