महेश कुमार वली,
सल्यान ३, चैत्र ।
सल्यानमा पनि दादुरा रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन हुने भएको छ । यही चैत ८ गते देखी जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुने भएको हो । जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
दुई चरणमा सञ्चालन हुने खोप अभियानमा दादुरा रुवेला विरुद्ध सल्यानमा २३ हजार २९ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियान अन्तर्गत चैत ८ गतेदेखि १२ गतेसम्म र चैत २४ गते देखी २८ गते सम्म गरेर २ चरणमा जिल्लाका दश वटै स्थानिय तहमा ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन लागिएको हो ।
यसका लागि जिल्लामा ४ सय ३३ वटा खोप केन्द्र रहने छन् । यस्तै ८ सय ६६ जना स्वास्थ्य स्वयम्सेबिका र १ सय ५ जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । पहिलो चरणमा जिल्लाको शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कालीमाटी गाउपालिका, छत्रेश्वरी गाउपालिका, त्रिबेणी गाउपालिका र कपुरकोट गाउँपालिकामा खोप अभियान संचालन गरिनेछ भने दोश्रो चरणमा बागचौर नगरपालिका, सिद्धकुमाख गाउपालिका, दार्मा गाउपालिका र कुमाख गाउँपालिकामा खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय सल्यानका खोप अधिकृत दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
खोप अभियानलाई प्रभावकारी बनाउन खोप अभियान समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग सोमबार खलंगामा छलफल गरिएको छ । खोप अभियान समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर बिष्टको अध्यक्षतामा भएको छलफलमा जिल्ला समन्वय समितीका उपप्रमुख हरि प्रकाश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगाएतको सहभागिता रहेको थियो ।