सल्यान ५, चैत ।
सल्यानको बागचौर नगरपालिकाको आयोजनामा पत्रकार, स्वास्थ्य, शिक्षक तथा स्वास्थ्य संचारकर्मी संग सरुवा रोग (नोभल कोरोना भाइरस) संक्रमण रोकथाम सम्बन्धि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको थारमारेमा सो कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले नोभल कोरोना भाइरस संक्रमण रोकथामको लागि यो कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । यहाँ सिकेका कुराहरु शिक्षक मार्फत बिद्यालयमा बिद्यार्थीहरुलाई तुरुन्त सिकाउन सकिने हुदा यो कार्यक्रम फलदायी हुने उहाँको भनाई छ । ‘नोभल कोरोना भाइरसले विश्व भरी महामारी लिरहेको बेला, हामीले पनि पहिले नै केही सावधानी उपनाउनु पर्छ, जसको लागि विदेश बाट आएका ब्यक्तिहरु लाई विशेष निगरानी गर्नुपर्छ, यदि कतै नगर भित्र शंकास्पत बिरामी भेटिए तुरुन्त स्वास्थ्य संस्थामा खबर गर्नुहोस्, उपचार गराउन जानुहोस् वा हामीलाई तुरुन्त खबर गर्नहोस्’ उहाँले भन्नुभयो ।
गलत हल्लाका पछि नलाग्न र कोही पनि त्रसित नहुन अनुरोध गर्दै यो विषयमा सबैले बेलैमा सावधानी अपनाउनु पर्ने उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा डाक्टर प्रशन राईले कोरोना भाइरस सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य संयोजक धनिराम केसीले पनि कोरोना भाइरस सम्बन्धी आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा १२ वटै वडाका वडाध्यक्ष, सदस्य, सम्पुर्ण विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, पत्रकार, स्वास्थकर्मी , लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका हरि कठायतले गर्नुभएको थियो । यसैबिच जनकल्याण नमुना माद्यामिक बिद्यालय थारमारेलाई बागचौर नगरपालिकाबाट पानी ट्याङ्की प्रदान गरिएको छ । नगर प्रमुख बुढाथोकीले साबुनपानीले हात धोएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । ट्याङ्कीमा नोभल कोरोना भाइरस सम्बन्धि सचेतनामुलक सन्देश पनि लेखिएको छ ।
बागचौर नगरपालिकाका अन्य बिधालयमा पनि केही दिन भित्र पानी ट्याङ्की बितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । बागचौर नगरपालिकाले नगरभित्र रहेका १२ वटा परिक्षा केन्द्रमा खानेपानीका ट्याङ्की जडान गर्नेछ । कोरोनाबाट बच्नको लागि सरसफाइमा ध्यान दिन र साबुनपानीले विद्यार्थीलाइ हात धुनको लागि हिल ट्याङ्की जडान गरिने नगरपालिकाले जनाएको छ ।