सल्यान ९, चैत ।
सल्यानमा पहिलो चरणको दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु भएको छ । चैत ८ गते शनीवार देखी १२ गते सम्मको लागी पहिलो चरणको खोप अभियान शुरु भएको हो । जस अन्र्तगत जिल्लाको शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कालीमाटी गाउपालिका, छत्रेश्वरी गाउपालिका, त्रिबेणी गाउपालिका र कपुरकोट गाउँपालिकामा खोप अभियान सञ्चालन भैरहेको छ ।
अहिले ९ महिना देखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क दादुरा—रुवेला खोप लगाउन थालिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । बालमृत्युदर घटाउन, उत्पादनशक्ति प्रभावकारी बनाउन, सक्षम तथा स्वस्थ नागरिक बनाउने लक्ष्यका साथ नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।
यस्तै चैत २४ गते देखी २८ गते सम्म दोस्रो चरणमा अभियान सञ्चालन हुने छ । जसमा बागचौर नगरपालिका, सिद्धकुमाख गाउपालिका, दार्मा गाउपालिका र कुमाख गाउपालिका समाबेश हुने छन् । जिल्लामा दादुरा रुवेला विरुद्ध २३ हजार २९ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।