देशमा हुने परिवर्तन कस्को लागि ?

विचार

अहिले जुन अवस्थामा नेपाल, नेपाली जनताहरू छौँ, यसले के कुराको पुष्टि गरेको छ भने, हामीले जतिसुकै, जुनसुकै व्यवस्थालाई परिवर्तन गरेर होस, अब सबै राज्यको जुन परिवर्तित संरचना, व्यवस्था आउँछ त्यो केवल सुन्दर नेपाल निर्माण गर्न र नेपाली जनताको हकहितको लागी सुनौलो बिहानीको किरण भई प्रकट हुन्छ भन्नु, अहिलेको अवस्थामा आएर फेरि एक पटक सबै नेपाली जनताहरू भ्रममा परेको कुरा छर्लङ्ग भएको छ ।

इतिहास पल्टाउँदा प्रजातन्त्रको लागी नेपाली जनताहरू राणाशासन विरुद्ध २००७ सालमा सडकमा आएकै हो । व्यवस्था परिवर्तन भएपछि आफ्नो हकहित, अधिकार, आवाज बुलन्द भई आयआर्जन, दैनिकी परिवर्तन, शिक्षा, स्वास्थ्य, रोजगारी सजिलै मिल्छ भन्ने सोच राखेका जनताहरू । त्यस कालखण्डको भुमरीमा स्वतन्त्र भई बाच्न र गरि खानको निमित्त विभिन्न चरणमा राजनितिक दलहरुको अगुवाईमा आन्दोलन गरेकै हो ।

फेरि २०४६ को जनआन्दोलन होस् या पञ्चायत विरुद्धको लडाईमा होस सबै नेपालीहरू एकजुट भएकै हो । फलस्वरूपः सत्ता स्वाद चाख्नलाई गरिब, निमुखा जनतालाई प्रयोग गरेकै हो । यदि होइन भने सात दशक बित्दा पनि नेपालीको आर्थिक वृद्धि, देशमा सुशासन, रोजगारी, अधिकार, शिक्षा, स्वास्थ्य जस्ता कुराबाट किन हामीले सजिलै लाभ लिन सकेका छैनौँ ?

दश वर्षे जनयुद्धले नेपालको आर्थिक विकास पुरै डामाडोल बनाएको र जनताले सायद यहि हो अन्तिम हामी नेपाली जनताको आवाज भनेर जनयुद्धमा होमिएर, ज्यान दिइ शहिद भइ नयाँ पुस्ताको लागि आफ्नो अमूल्य बलिदान दिई र पछि हाम्रो लागि समावेसी संविधान बनाई देश र जनताको जिवनयापन, आर्थिक विकासको मुल फुट्ने भनि देखाइएका संपनाहरू आज फेरि धमलिएको छ । किनकी हामीले त केबल समाजमा भएका, अलि टाठाबाठाहरुलाई सत्तामा पो पुर्याउँन रहेछ । अहिलेको अवस्थाले त झन् प्रष्ट पारेको देखियो ।

अझै पनि नेताहरुले भन्ने गर्दछन् विधि, विधान र पद्धतिका लागी फेरि एक पटक सडकमा उत्रन पर्छ । के हामी नेपालीहरू अबुझ नै हो र ? यदि नेपाली जनताबाट चुनिएका प्रतिनिधिले नै हिजो आफु सत्तामा हुदाँ संविधान निर्माण गरेर समावेशी र विश्व कै उत्कृष्ट संविधान भनि सदनमा भाषण गर्दा तालीको आवाज पुरै नेपालभरि र सारा नेपालीको कानमा गुन्जिदाँ आज फेरि पदको भागबन्डा नमिल्दा हामीहरुले नेताहरुलाई प्रश्न गर्नै पर्छ ।

ए नेता हो … आखिर किन यति कमजोर संविधान बनाएको, जुन नेपाली जनताबाट लेखिएको भनिएको संविधानले नै तिमीहरूको पद सुरक्षित भएन् । अखिर सबै सत्ताको लागि रहेछ, जनताको लागि ल केबल संविधान भन्ने शब्द मात्रै अनि कहाँ बाट चल्छ विधि, विधान र पद्धति । बाच्न पाउने, बोल्न पाउने त अझै सम्म छैन अनि कुन विधि, विधान र पद्धतिबाट पाउने हामीले शिक्षा, रोजगारी, स्वास्थ्य, आर्थिक उन्नति, विकास र सुशासन ?

कोभिड–१९ ले देश पुरै ठप्प हुदाँ स्वास्थ्य क्षेत्र पुरै अस्तव्यस्त हुदाँ, हामी यहि देशका नागरिक हौँ । जहाँ दिनदहाडै स्वास्थकर्मी कुटिन्छन । भोकले गर्दा गरिब जनताले प्राण त्यागेका छन् । उच्च शिक्षा त परै जाओँस, न्यूनतम शिक्षा, व्यवहारिक शिक्षा हासिल गर्न नपाउँदा देशका लाखाँै युवाहरु खाडीको तातो हावामा काम गर्न बाध्य छन् । देशमा नै केहि गर्नुपर्छ भन्ने युवाहरु राजनितिमा व्यस्त छन्, पावरको कुरा गर्दै परिवर्तनको नारा लगाएर, त्यो पनि कुनै पार्टीको । आखिर के व्यवस्था परिवर्तन भयो ? के कुरा नयाँ भयो ? के यसको जवाफ छ ? समस्या त जहाँ थियो त्यहीँ छ, आखिर परिवर्तन भयो के ?

देशका कर्णधार युवाहरुलाई भुसमा आगो सल्काए जसरी राजनितिको वकालत गर्न सिकायौ के यही हो परिवर्तन ? हातमा कलम, किताब र कापी बोक्नु पर्ने र देशको उज्वल खाका तयार गर्ने बोला पार्टीको झण्डा बोक्न सिकायौ, यहि हो परिवर्तन ? के नेपाली जनताहरुले चाहेको यहि हो ? के हाम्रा पूर्वजहरूले यहि गर्नको लागि त्याग बलिदान दिएका हुन् ? युवाहरुमा अपिल छ, के हाम्रा पुर्खाहरू हाम्रो यस्तो दयनिय दिनका लागि आफ्नो बलिदान गरेका हुन र ? यदि होइन भने २१ औं शताब्दीमा हामी आईपुग्दा शिक्षित छौ, हामी भन्दै गर्दा के हाम्रो कर्तव्य, जिम्मेवारी, दायित्व होइन र भोलिका सन्ततीका लागि आजै बाट वैज्ञानिक समाज, जो आर्थिक विकास, रोजगारीको सुनिश्चता, सुन्दर नेपाल बनाउने सपनाको लागि जागौँ ।

अब हामी दलका नेताहरूको झण्डा बोकी होइन, अब कुनै व्यवस्था परिवर्तन गर्न होइन, जुन कालो मन बनाएर हामीलाई उपयोग गरेका छन्, जसले हामीलाई अन्धकारमा राखेर आफ्नो स्वार्थ पुरा गरेका छन्, त्यस्ता नेताहरू हुनु हुँदैन, त्यो व्यवस्था परिवर्तन गर्न । शिक्षा, रोजÞगारी स्वास्थ्य, आर्थिक विकास, समृद्ध नेपाल निर्माण गर्न मौलिक हकहित सुरक्षित गर्न, समाज र देशको निर्माण गर्न लडौँ, किनकी आजको परिस्थितीले यही भन्छ, आखिर परिवर्तन कस्का लागी ?

0000

 

दाङ घर भएका लेखक पौडेल शहिद नेत्रलाल अभागि प्राविधिक शिक्षालय सल्यानमा कार्यरत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस