गाउपालिकाले अनुदान दिन थालेपछि किसान उत्साहित

किसानले प्रतिखसीबोका ५ सय, दूध प्रतिलिटर ५ रुपैँया र अण्डा प्रतिगोटा ५० पैसा अनुदान पाउँछन् ।

तस्वीर:  गत आर्थिक बर्षमा किसानलाई अनुदान वितरण गरिदैँ ।

सल्यान ८, असार ।
सल्यानको त्रिबेणी गाउपालिकाले कृषकको उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान उत्साहित भएका छन् । जिल्लामा नै पहिलो पटक कृषकहरुलाई प्रोत्साहन गर्दै व्यवसायिक किसानहरुले गरेको उत्पादनको आधारमा अनुदान दिनथालेपछि किसानहरु उत्साहित भएका हुन् । इतिहासमै पहिलोपटक कृषकको पहिचान गरी वास्तविक कृषकलाई अनुदान दिने व्यवस्था मिलाइनु सकारात्मक भएको उनीहरुको भनाई छ ।

गण्डकी बहुउद्धेश्यीय कृर्षि फार्मका सञ्चालक अर्जुन कुमार श्रेष्ठले गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रम कृषकको लागि लोकप्रिय भएको बताउनुभएको छ । यसअनुदान बास्तविक किसानले पाउने भएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । करिब ७ सय लेयर्स कुखुरापालन गर्दै आउनुभएका उहाँले गत बर्षमा मात्रै झण्डै डेढ लाख अण्डा उत्पादन गर्नुभएको थियो ।

गाउँपालिकाको निति अनुसार दूध उत्पादक किसानले जति लिटर दूध उत्पादन गर्छन् गाउँपालिकाले प्रतिलिटर ५ रुपैयाँका दरले कृषकलाई अनुदान प्रदान गर्छ । यस्तै खसीबोका उत्पादन गर्ने कृषकलाई प्रति खसीबोकाको ५ सय रुपैँया र अण्डा उत्पादन तर्फ प्रतिगोटाको ५० पैसाका दरले अनुदान प्रदान गर्दै आएको छ । गत बर्ष देखी नै यस कार्यक्रमलाई सञ्चालन गर्न थालिएको थियो ।

गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले यस बर्ष कृषकको उत्पादन, गाउँपालिकाको अनुदान कार्यक्रमको लागि ६ लाख रुपैँया छुट्याइएको बताउनुभएको छ । यस बर्षको अनुदान प्रदान गर्नको लागि अहिले व्यवासायिक कृषि पेशामा संकलग्न कृषकको विवरण संकलनको काम भैरहेको उहाँको भनाई छ । गत बर्ष मात्रै कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत ८२ जना कृषकको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैया अनुदान प्रदान गरिएको थियो ।

अनुदान प्राप्त गर्नको लागि खसीबोका तर्फ आफैले उत्पादन गरेर बार्षिक ५ वटा जिउदोँ खसीबोका बिक्री गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै दूध उत्पादन गर्ने किसानले दुधालु २ वटा गाई वा भैसीँ पालेको र मासिक २ सय लिटर दूध बिक्री गरेको हुनुपर्ने प्रावधान रहेको छ । यस्तै अण्डा तर्फ मासिक २ हजार अण्डा उत्पादन गरेको हुनुपर्ने प्रावधान रहेको छ । कृषकले गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको अनुदान प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्य रहेको गाउपालिकाले जनाएको छ ।

गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले यस कार्यक्रमले पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको बताउनुभएको छ । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको उहाँले बताउनुभएको छ । उहाँले आगामी बर्षको निति, कार्यक्रम र बजेटमा यस कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस