दूध उत्पादनमा बृद्धि गर्न त्रिबेणी गाउपालिकाका किसानलाई भैँसी वितरण

सल्यान १३, असार ।
सल्यानको त्रिबेणी गाउपालिकामा भैँसी वितरण गरिएको छ । एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तरगत त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा भैँसी वितरण गरिएको हो । दूध पकेट करिडोर अन्र्तगत त्रिबेणी गाउपालिकाको वडा नम्बर १, ३ र ६ मा ४७ वटा उन्नत जातको मुर्रा भैसी वितरण गरिएको हो ।

पशु सेवा कार्यालयको २० लाख, त्रिवेणी गाउँपालिकाको ६ लाख र गाइभैसी पकेट विकास समितिको २३ लाख ५० हजार गरि कुल ४९ लाख ५० हजारको लगानीमा भैसी वितरण गरिएको गाउपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । जसमा वडा नम्बर १ मा १४ वटा, ३ मा १७ वटा र ६ मा १६ वटा भैसी वितरण गरिएको छ ।

उहाँले सोही कार्यक्रम भित्र रहेर उन्नत जातको घाँस, तालिम, अन्तरक्रिया, औषधी समेत वितरण गरिएको जानकारी दिनुभयो । गाउपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन उन्नत जातका भैसी वितरण गरिएको उहाँको भनाई छ ।


परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैसी पालन थालेको गाईभैसी पकेट विकास समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले जानकारी दिनुभयो । बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित बनाउन थालेको उहाँको भनाई छ । किसानलाई पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरि रहेको छ ।

भैसी हस्तान्तरण कार्यक्रममा त्रिबेणी गाउपालिका उपाध्यक्ष करुणा खड्का, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्याय, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन, त्रिबेणी गाउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हुकुम प्रसाद महतरा, पशु सेवा कार्यालयका लेखापाल प्रेम डाँगी लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस