सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण

खुसी हुदैँ भन्छन् : ‘गरिवको लागि पनि सरकार रहिछ’

सल्यान १८, असार ।
सल्यानको त्रिबेणी गाउपालिका ६ भुम्केज्युलाका डिल्ली पुन घरविहिन हुनुहुन्थ्यो । झण्डै एक दशक छिमेकीको घरमा बस्दै आउनुभएका उहाँ अहिले आफ्नै घरमा बस्न थाल्नुभएको छ । जग्गा जमिन केही नभएका उहाँलाई घर निर्माणको लागि जनता आवास कार्यक्रम मार्फत रकम प्राप्त भयो । सरकारले पैसा दिएर घर बनाइदियो खुसी हुदैँ उहाँले भन्नुभयो ‘एक दशक पछि अहिले आफ्नै नयाँ घरमा बस्न थालेको छु ।’

कालिमाटी गाउपालिका २ बराढुंगाका मेघराज परियारको नाममा जग्गाजमिन केही छैन् । ४ जनाको परिवार ज्यालामजदुरी गरेर पाल्दै आउनुभएका उहाँलाई सरकारले घर निर्माणका लागि रकम दियो । ‘हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौँ, राम्रो भयो’ उहाँले भन्नुभयो । नयाँ घर बनाउन सरकारले दिएको खर्चले घर निर्माण भएपछि खुसी छाएको उहाँको भनाई छ ।

छत्रेश्वरी गाउपालिका ५ लेखपोखराकी धनी कामीको पनि घर थिएन् । जसोतसो जीवन गुजारा चलाउदैँ आउनुभएकी उहाँलाई पनि सरकारले घर निर्माणका लागि रकम दियो र अहिले नयाँ घरमा बस्दै आउनुभएको छ । ‘घर नुहदाँ समस्या थियो, बिपन्न परिवारको लागि कोही छैन्, भन्ने मनमा लाग्नेगर्दथ्यो तर हाम्रो लागि सरकार रहिछ, २ कोठे घर निर्माण गरिदियो’ उहाँले भन्नुभयो ।

उहाँहरु तीन जना त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण भएपछि सल्यानका ५० विपन्न परिवार खुसी भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार चालुआर्थिक बर्षमा जिल्लामा ५० वटा घर निर्माण सम्पन्न भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानिय तह भएको सल्यानमा प्रत्येक स्थानिय तहमा ५/५ वटाका दरले घर निर्माण भएका हुन् ।

घरविहिन परिवारका लागी संघिय सरकारले जिल्लामा ५० आवास निर्माण गर्न रु. १ करोड ७५ लाख रुपैँया पठाएको थियो । सोही बजेटको पुर्वाधार बिकास कार्यालय सल्यानले कार्यान्वयन गरेको हो । सोही रकमबाट घर निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख बिनोद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार घर निर्माणका लागी प्रत्येक परिवारले अधिकतम ३ लाख ३६ हजार रुपैँया प्राप्त गरेका छन् । ‘यसबर्ष जिल्लामा ५० वटा आवास निर्माण भएका छन्, जनता आवास कार्यक्रमको कार्यविधि अनुसार रकम भुक्तानी भैरहेको छ, बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको छ’ उहाँले भन्नुभयो ‘यस बर्ष जनता आवासको रकम केही अपुग हुनेभयो, हामीले मन्त्रालयसँग वजेट माग गरेका छौँ ।’

आवासका लागि दुई कक्ष सहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको छ । कार्यालयका असिस्टेन्ट सव इन्जिनियर महेश कुमार वलीले आवास निर्माण कार्यक्रम लोकप्रिय रहेको बताउनुभएको छ । यो लक्षित समुदायसम्म पुग्ने कार्यक्रम भएकाले उनीहरु पनि खुसी भएको उहाँको भनाई छ । जिल्लामा आवास निर्माणका लागि सयौँ परिवारले माग गरेको पुर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस