भाडा बृद्धि गर्नुपर्ने सल्यानका अटो व्यवसायिहरुको माग

सल्यान ३०, असार ।
भाडा बृद्धिको माग गर्दै सल्यानका अटो व्यवसायि आन्दोलित भएका छन् । जिल्लामा सञ्चालन भैरहेका अटो व्यवसायिहरु भाडा बृद्धिको माग गर्दै बुधार आन्दोलित भएका हुन् । जिल्लामा सञ्चालन भैरहेका आरएस यातायात सेवा प्रालि र सल्यान यातायात सेवा प्रालिका करिब ७० बढी अटो व्यवसायिहरु आन्दोलित भएका हुन्् । महिनैपिच्छे जस्तो पेट्रोलको मुल्य बृद्धि भैरहेको भएपनि अटोको भाडा बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सल्यान यातायात सेवा प्रालिका अध्यक्ष लोकराज केसीले इन्धनको मुल्य बृद्धि भैरहेपनि अटोको भाडा बृद्धि नहुदाँ बाध्य भएर आन्दोलित हुनु परेको बताउनुभयो । यसअघि सर्वपक्षिय निर्णयबाट जिल्लाको सदरमुकाम खलंगा देखी श्रीनगरसम्मको भाडादर ६० रुपैँया कायम गरिएको थियो । त्यसबेला पेट्रोलको मुल्य प्रतिलिटर ९२ रुपैँया थियो ।

तर पेट्रोलको मुल्य बढेपछि झण्डै दुइ महिना अघि मात्रै अटो व्यवसायिका पदाधिकारीहरुको सामुहिक बैठकबाट खलंगा श्रीनगरको भाडा २० रुपैँया बढाएर ८० रुपैँया बनाइएको थियो । अटोको भाडा बृद्धिको बारेमा गरिएको निर्णय अबैध भन्दै प्रहरीले अटोहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालेपछि आफुहरु आन्दोलित भएको उहाँको भनाई छ । ‘अहिले पेट्रोलको मुल्य प्रतिलिटर १ सय ३३ रुपैँया पुगेको छ, हामीले त्यही अनुसार २० रुपैँया भाडा बढाएर ८० बनाएका हौँ’ उहाँले भन्नुभयो ।

आरएस यातायात सेवा प्रालिका उपाध्यक्ष हरी नेपालीले पेट्रोलको मुल्य बढेसँगै भाडा बृद्धि गर्न नगरपालिका तथा प्रहरी प्रशासनलाई आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको बताउनुभयो । ‘अहिले कै अवस्थामा हामीले पुरानो भाडादरमा अटो सञ्चालन गर्न सक्ने अवस्था छैन्’ उहाँले भन्नुभयो ‘सामुहिक रुपमा गरिएको भाडा बृद्धिको निर्णयलाई बैधानिकता दिनुपर्छ ।’

उहाँले यस बिषयमा नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा बेलाबेलामा धाउदाँ पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलित हुनु परेको बताउनुभयो । सल्यान प्रहरीले बुधबार बिहान मात्रै बढी भाडा लिएको भन्दै श्रीनगर क्षेत्रबाट केही अटोलाई नियन्त्रणमा लिएको छ ।

शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले सामुहिक छलफलबाट भाडादर निर्धारण गरिने जानकारी दिनुभयो । यसबारेमा प्रहरी प्रशासन र व्यवसायिहरुका बिचमा कुराकानी पनि भएको र बिहीबार बिहान सामुहिक छलफल गरेर भाडादर निर्धारण गरिने जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस