सल्यान ९, साउन ।
सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर २ रानीपोखरीका मोतिराम सार्की उमेरले ५१ बर्षको पुग्नुभयो । रोजगारीको सिलसिलामा भारतमा जानुभएका उहाँले काम गर्ने क्रममा एउटा खुट्टा गुमाउनुभयो । खुट्टा गुमाएर हिडडुल गर्न समस्या भएका उहाँले २२ बर्षपछि कृत्रिम खुट्टा पाउनुभयो । ‘काम गर्ने क्रममा खुट्टा गुमाए, खुट्टा नहुदाँ केही काम गर्न पनि सकिएन्, घर वरपर हिडडुल गर्न समेत अरुको सहारा माग्नुपथ्र्यो’ उहाँले खुसी हुदैँ भन्नुभयो ‘२२ बर्षपछि खुट्टा पाएको छु, अब त पहिले कै जसरी हिडडुल गर्न सक्छु ।’
बागचौर नगरपालिका वडा नम्बर ७ का टिकाराम बिक पनि रोजगारीको सिलसिलामा भारतमा जानुभएको थियो । तर काम गर्ने क्रममा उहाँले आफ्नो एउटा खुट्टा गुमाउनुभयो । खुट्टा गुमाएर समस्यामा पर्नुभएका उहाँले ३ बर्षपछि कृत्रिम खुट्टा पाउनुभयो । उहाँ अहिले खुसी हुनुहुन्छ ।
छत्रेश्वरी गाउपालिका वडा नम्बर १ दमाचौरका २९ बर्षिय प्रकाश बिकको एउटा खुट्टामा क्यान्सर भयो । क्यान्सर भएपनि उहाँले लाखौँ रुपैया खर्च गरेर पटक पटक खुट्टाको उपचार गर्नुभयो । उपचार सफल नभएपछि अन्ततः उहाँले खुट्टा गुमाउनु पर्यो । खुट्टा गुमाएको झण्डै ८ महिनापछि उहाँले कृत्रिम खुट्टा पाउनुभएको छ । ‘अब त आफ्नै खुट्टाले हिड्न सक्ने भए’ खुसी हुदैँ उहाँले भन्नुभयो ।
बिकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल काभ्रेपलान्चोक र अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशको समन्वयमा उहाँ ले कृत्रिम खुट्टा पाउनुभएको हो । काभ्रेपलान्चोक गैइ पहिले काटेको खुट्टामा कृत्रिम खुट्टा राखेर उहाँहरु घर फर्किनुभएको छ । यसबाट उहाँहरुको जीवनले नयाँ गन्तव्य रोजेको छ ।
बिकलाङ्ग मित्र समुह अपांग बाल अस्पताल काभ्रेपलान्चोक र सल्यान जिल्लाका बिभिन्न स्थानिय तहहरुको साझेदारीमा उपचार तथा पुर्नस्थापनाको काम हुदैँ आएको सहायक सुपरभाईजर होमराज केसीले जानकारी दिनुभयो । बिशेषगरी १८ बर्ष सम्मका शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनःस्थापना काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । हाल सम्म सल्यान जिल्लाका करिब ३ सय बालबालिकाको उपचार तथा पुनःस्थापना भैसकेको छ ।