सल्यानमा ‘तपाइको मास्क खै’ ? अभियान सञ्चालन

सल्यान २८, साउन ।
सल्यानमा तपाइको मास्क खै ? अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फेरी बढ्न थालेपछि आमनागरिकहरुलाई मास्क लगाउन तथा कोरोनाबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रेरित गर्दै जिल्लामा तपाइको मास्क खै ? अभियान सञ्चालन गरिएको हो । जसअनुसार बिहीवार जिल्लाको सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सहित सरोकारवालाहरुको सहभागितामा वजार परिक्रमा गरिएको छ ।

बजारमा हिड्ने पैदल यात्रु, बजार क्षेत्रका सर्वसाधारण तथा सवारी साधनलाई तपाईंको मास्क खै ? भन्ने अभियान मार्फत सचेतना सहित मास्क वितरण गरिएको छ । यस्तै कोरोनाबाट बच्न आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै सचेतनामुलक स्टिकरहरु टाँसिएको छ । जिल्लामा कोरोनाको संक्रमण जोखिम कायमै रहेको अवस्थामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कोरोनाको संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क लगाउनु पर्ने प्रमुख जिल्ला अधिकारी हुमागाईले बताउनुभयो । पैदल यात्रा गर्दा होस् वा सवारी साधनमा यात्रा गर्दा होस, अनिवार्य मास्क प्रयोग गर्न सर्वसाधरणलाई उहाँले अनुरोध पनि गर्नुभयो । अभियान अन्र्तगत बजार परिक्रमा गर्दै उहाँले मास्क नलगाएकालाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्ने, मास्क नलगाएका र पुरानो लगाइरहेकालाई मास्क वितरण गर्ने काम गरिएको बताउनुभयो ।

‘मुख्यतः हामीले सरसफाइमा ध्यान दिनुपर्छ, मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, भिडभाडमा नजाने गर्ने हो भने कोरोनाबाट बच्न सकिन्छ’ उहाँले भन्नुभयो ‘यो शुरुवात मात्रै हो, कोरोना बाट बच्नको लागि तपाइ हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।’

तपाइको मास्क खै ? अभियानमा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठ, सल्यान जिल्ला अस्पतालका डा. भिमकान्त जैसी, सल्यान प्रहरी प्रमुख गोविन्द थापा, सशस्त्र प्रहरी प्रमुख बिकास थापा, मानवअधिकारकर्मी रामचन्द्र रेग्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

सरकारको साताव्यापी कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, दलित बिकास समाज सुआहारा कार्यक्रम लगाएतको संयुक्त पहलमा अभियान तपाइको मास्क खै ? अभियान सञ्चालन गरिएको सुआहारा कार्यक्रमका फिल्ड कोर्डिनेटर तोरण बुढाथोकीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस