गुमनाम ठाउँ ‘टिकटक’मा भाइरल

फोटो खिच्ने र टिकटक बनाउनेको भिड नै हुन्छ : स्थानिय

सल्यान २, भदौँ ।
पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या हात्तै बढेसँगै गुमनाम मानिएका ठाउँहरु चर्चामा आउन थालेका छन् । विगतमा ती ठाँउहरुमा घुम्न जाने, फोटो खिच्ने पर्यटकहरु नभएको होइन, तर टिकटक, फेसबुक र युट्युबको जमानामा कतिबेला के भाईरल हुन्छ भन्ने कुराको केही अतोपतो नै हुदैन ।

विरलै नाम सुनिएका र आन्तरिक पर्यटकहरु पुगेपनि खासै चासो नहुने सल्यानका केही ठाउँहरू कोरोना भाइरसको महामारीबीच एकाएक चर्चामा आएका छन् । पर्यटकीय सम्भावना बोकेका यी ठाउँमा पूर्वाधारको विकास केही अघिदेखि गरिँदै आएको भए पनि पछिल्लो समय सामाजिक सञ्जालका कारण एकाएक चर्चामा आएको ती क्षेत्रका स्थानियहरु बताउँछन् ।

सामाजिक सञ्जाल टिकटक कै कारण जिल्लाका आधा दर्जन बढी ठाउँहरु अहिले निकै चर्चामा छन् । थारमारे बडागाउँ चौरहजारी सडक खण्डको पुलतीवास आसपासको डेढ किमी सडक, शारदा नगरपालिकाको ढारखानी स्थित लेखापोखरा पिपलचौतारा, छत्रेश्वरी गाउँपालिकाको शंखपार्ख, १ सय ८ शिवलिंग भएको लान्तिवजारको बैकुण्ठ धाम, चैवाङज्युलाको सेल्फि पुल, स्याउ पाइने जैतपानी लगाएतका क्षेत्र सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल छन् ।

छत्रेश्वरी गाउँपालिकाले शंखमुलमा केही समय अघि देखी पूर्वाधार निर्माणको काम थाले पनि अहिले एकाएक चर्चामा आएपछि मानिसहरूको भिड बढेको छ । सामाजिक सञ्जाल टिकटक कै कारण अहिले शंखपार्क निकै चर्चामा रहेको वडाअध्यक्ष चुडामणी दशौतीले जानकारी दिनुभयो । उहाँले शर्खपार्कमा दैनिक एक सय बढीको संख्यामा मानिसहरु आउने गरेको उहाँको भनाई छ ।

शंखमुलको महत्व छत्रेश्वरी मन्दिर छायाक्षेत्र सँग जोडिएको छ । ‘विगतमा पनि महाशिवरात्री लगाएतका पर्वमा भिडभाड हुने यस शंखमुलमा अहिले टिकटक कै कारण मान्छेहरुको भिड नै लाग्ने गरेको छ, यहाँ अझै धेरै संरचना निर्माण गर्न बाँकी छ’ उहाँले भन्नुभयो ‘यसको प्रचारप्रसार सामाजिक सञ्जाल टिकटकबाट राम्रो भएको महशुस भएको छ ।’

ढारखानीको पिपलचौतारामा दैनिक एक सय बढी पर्यटकहरु आउलान भन्ने कसैले सोचेका थिएनन् । सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै गत बैशाख महिना देखी यहाँ घुम्न, पिकनिक खान, फोटो खिच्न तथा टिकटक बनाउन आउनेको संख्या उल्लेख्य रहेको स्थानिय बिष्णु न्यौपानेले जानकारी दिनुभयो ।

अहिले घुम्न आउने पर्यटकहरुलाई बर्षौ सम्म आउने वातावरण बनाउनको लागि चुनौती थपिएको उहाँको भनाई छ । ‘प्राकृतिक सुन्दरताका कारण मानिसहरुको भिड नै लाग्ने गरेको छ, तर यहाँ आउन मोटरबाटो, खानेपानी, होटल छैनन्, यसले चुनौनी थपिएको छ, आगामी दिनहरुमा यसरी नै पर्यटक भिञ्याउने बिषयमा सबैले सोच्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

पर्यटकीय सम्भावना बोकेका यस्ता ठाउँ एकाएक चर्चामा आउनुमा सामाजिक सञ्जालको ठूलो हात रहेको स्थानियको भनाई छ । पहिलैदेखि पर्यटकीय गन्तव्य रहे पनि सामाजिक सञ्जालका कारण अहिले चर्चामा आएका ठाउँहरुमा पुर्वाधार विकास गर्नुपर्नेमा सरोकारवालाहरुको जोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस