सल्यान १०, भदौँ ।
सल्यानको एक बिद्यालय झण्डै २ बर्ष देखी अध्यक्ष विहिन अवस्थामा रहेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा, पाखापानीमा रहेको महेन्द्र माद्यामिक बिद्यालय विगत २० महिना देखी बिद्यालय व्यवस्थापन समितीको अध्यक्ष विहिन भएर सञ्चालन भैरहेको हो ।
बिद्यालय सरस्वतीको मन्दिर हो । शिक्षा आर्जन गर्ने र सयौँ बिद्यार्थीहरुको भबिष्य उज्यालो बनाउने सरस्वतीको मन्दिर बिद्यालयमा नै राजनितिक गन्ध देखिन थालेपछि यस बिद्यालयले अध्यक्ष पाउन सकेको छैन् । अन्य क्षेत्र जस्तै गरेर पछिल्लो समय यहाँका केही अभिभावकहरुले बिद्यालयमा समेत राजनिति गर्न थालेको गुणासो आएको छ ।
बिद्यालयमा बिद्यालय व्यवस्थापन समितीको अध्यक्ष चयन हुन नसक्दा बिद्यालयको प्रशासनिक कामकाज ठप्प जस्तै बनेको छ । यस्तै बिद्यार्थीहरुको पढाइलेखाइ भन्दा पनि कुन पक्षको अध्यक्ष बनाउने भन्ने होडबाजी चलेको छ । अभिभावक, शिक्षक र बिद्यार्थीहरुका विचमा त्रिकोणात्मक समन्वय र सहकार्य गरेर बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्ने बेलामा अध्यक्ष पदकै लागि गरिएको किचातानीले समस्या बनाएको छ ।
२०७६ सालको पुसमा नयाँ बिद्यालय व्यवस्थापन समिती गठनका लागि ४ जना सदस्य सर्वसम्मत मनोनित गरिएको थियो । जसमा गोबिन्द केसी, घनश्याम भण्डारी, डिल्ली डाँगी र झरणा वली सदस्य रहनुभएको छ । यस्तै सदस्य सचिवमा प्रधानाध्यापक रोमहर्ष केसी, शिक्षक प्रतिनिधिमा हिरासिंह थापा र पदेन सदस्यमा वडाअध्यक्ष लिलाधर घर्ती रहनुभएको छ ।
बाँकी २ जना सदस्य मनोनित गरेर ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिती गठन गर्नुपर्नेमा सदस्य नै मनोनित गर्न नसक्दा समस्या भएको हो । जसका कारण २० महिना देखी बिद्यालय अध्यक्ष विहिन छ । तर बिद्यालयले कहिले अध्यक्ष पाउँछ भन्ने अझै टुंगो छैन् । मुख्यत ः राजनितिक किचलोँका कारण अध्यक्ष चयनमा समस्या भएको एक अभिभावकले बताउनुभयो ।
‘बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तरका बारेमा कसैलाई चासो छैन्, बेलैमा बिद्यालयले अध्यक्ष नपाउदाँ प्रशासनिक कामकाज देखी पठनपाठन समेत प्रभावित भएको छ’ उहाँले भन्नुभयो ‘राजनितिक स्वार्थबाट बाहिर नआएसम्म बिद्यालयले अध्यक्ष पाउने सम्भावना छैन् ।’ उहाँले सिमित व्यक्तिको स्वार्थ पुरा गर्नको लागि बिद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो ।
प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालय व्यवस्थापन समितीको अध्यक्ष चयनका लागि पटक पटक बैठक आह्वान गरेर छलफल गर्दा पनि सहमती हुन नसकेको बताउनुभयो । अहिले जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरिएको भएपनि दिगो र महत्वपुर्ण निर्णय गर्न भने समस्या भएको उहाँको भनाई छ । बिद्यालयको अध्यक्षमा २ जनाको दावी भएपछि समस्या भएको जनाइएको छ ।