सल्यानका १६ वडाअध्यक्ष सहित ६४ जनप्रतिनिधिद्धारा एकीकृत समाजवादीमा सनाखत

पार्टी फुटाएका होइनौँ, पुनर्गठन गरेका हौँ : नेता ज्वाला

सल्यान १८, भदौँ ।
सल्यानका ६४ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका दश स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले विहीबार एक जनाले र बाँकी ६३ जनाले शुक्रवार सनाखत गरेको जानकारी दिनुभयो ।

जसमा १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले जानकारी दिनुभयो । जसमा दुइ जना कार्यवहाक वडाअध्यक्ष रहेका छन् । उहाँले स्थानिय तहका प्रमुख एक जना र उपप्रमुख एक जनाले सनाखत गरेको जानकारी दिनुभयो । जसमा सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नुभएको छ । यस्तै ४६ जना वडा सदस्यले पनि सनाखत गरेका छन् ।

जिल्लाका स्थानिय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले जानकारी दिनुभयो । जसमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाधर घर्ती, कालिमाटी गाउँपालिका १ का वडाअध्यक्ष रविलाल बस्नेत, कालिमाटी गाउँपालिका ५ का वडाअध्यक्ष चन्द्र बहादुर गाहा मगर लगाएतका केही जनप्रतिनिधिले पनि सनाखत गर्ने उहाँको भनाई छ ।

उहाँले कार्यव्यस्तताले शुक्रवार आउन नसकेका जनप्रतिनिधिहरु भदौँ २२ गते भित्र निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने जानकारी दिनुभयो । ‘कुमाख गाउपालिकाका सतप्रतिशत निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा आउनुभएको छ, शारदा नगरपालिकाका पनि १८ जनप्रतिनिधि मध्ये १६ जना आउनुभएको छ’ उहाँले भन्नुभयो ‘अहिले छुटेका जनप्रतिनिधिहरु २२ गते भित्र आएर सनाखत गर्नुहुन्छ ।’

सो अबशरमा बोल्दै पार्टीका नेता प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी ओलीले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेकाले पार्टी पुनर्गठन गर्दै अगाडी बढेको बताउनुभएको छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै सर्वसत्तावादी सोच र निरंकुश कार्यशैलीबाट पार्टी कब्जा गरिएपछि बाध्य भएर पार्टी पुनर्गठन गरिएको बताउनुभयो ।

ज्वालाले बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्धेश्यका साथ आफुहरु अगाडी बढेकाले बिचलित नहुन आमकार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले सल्यान जिल्लाभर एकीकृत समाजवादी पार्टीको पक्षमा आमनेताकार्यकर्ताहरुको उत्साहपुर्ण सहभागिता रहेको बताउनुभयो । त्यसकारण विचलित नहुन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।

नयाँ पार्टी निर्माण गर्दा केही कठिन संघर्ष गर्नुपर्ने भएपनि जिल्लावासीको साथ र सहयोगका कारण कुनै समस्या नहुने बताउनुभयो । निर्वाचन कार्यालयमा जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रममा पार्टीका नेता ज्वाला सहित जिल्ला अध्यक्ष उदय बोहरा, उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित