सल्यान २२, भदौँ ।
आज बुवाको मुख हेर्ने दिन, अर्थात् कुशे औंसी । यही पवित्र दिन म पनि मेरो पुजनीय बुवामा समर्पण गर्न चाहन्छु । यो सृष्टि हरेक बिहान बिस्तारै-बिस्तारै साँझमा रूपान्तर हुन्छ । उदाएको सूर्य अस्ताउने रित छ । यसैगरी दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले छोरा त कहिले बुवाको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
0000
सन्तानको जीवन सजाउन अहोरात्र खटेर उसलाई कर्म अनि सुरक्षा दिने बुवा । बुवाको महानता शब्दबाट व्याख्या र परिभाषित गर्न सकिन्न, मात्र मनको शिलालेखमा ममताको लिपिले लिपिबद्ध गर्न सकिन्छ । आजको दिनमा मलाई अरु केही सम्झन मन छैन्, मात्रै बुवाको सम्झनामा केही शब्द लेख्ने कोशिस गर्दैछु ।
0000
बुवा, हजुर ११ बर्ष अघि म र परिवार छोडेर जाँदा म सानै थिए । त्यो बेला म १४ बर्षको थिए । भर्खर किशोराअवस्थामा प्रवेश गरेको थिए । सानो उमेर लहलहैको उमेर थियो । तर पनि बुवाले सिकाएको बाटो, आमाले दिएको माया र परिवारले दिएको साथका कारण गलत बाटोमा थिएन् ।
0000
बुवा, मेरो दिमागमा हजुरको अनुहार अझै झलझल्ती आउँछ । बुवासँगका यादहरू कता–कताबाट दिमाग भित्र छिर्छन् । सानो छदाँ बुवाको काखमा बसेका ती दिन सम्झिन्छु, मकैँ भटमास बुवाले चपाएर मलाई खुवाएको दिनको याद आउँछ, जात्रा हेर्न होस् या छिमेकीको घरमा भएका बिहे पुजामा होस्, बुवाको चोर औँला समाएर सँगै गएको याद आउँछ । अनि मनमा एउटा भिन्दै खाले पीडावोध हुन्छ ।
0000
अनी म सोच्छु, मेरो जीवनको अभिन्न अंग भर्खरै म बाट चुँडिएर हावामा तैरिँदै टाढा–टाढा हुँदै गइरहेको छ । म त्यसलाई समात्न खोज्छु, तर त्यो कतै क्षितिजमा पुगिसके जस्तो देखिन्छ । तर, त्यो हराएको हुँदैन, मेरै वरिपरि घुमिरहेको हुन्छ । म यस कुरामा यकिन छु कि, मेरो दिमागमा चलिरहेका यी मध्ये धेरै सोचाइ भ्रम मात्र हुन् ।
‘ यस्ता दिन वरिपरिका रातमा बुवाकै सपना देखिन थाल्छ । अनि तुरुन्तै त्यो रातको साढेँ ११ वजेलाई सम्झन्छु, जुन रातमा बुवाले संसार छाड्नुभएको थियो । ‘
बुवा, अहिले म यो अवस्थामा आएको छु । जुन अवस्था सम्म आउन मलाई हजुरले नै हो सिकाएको । अहिले हजुरको भौतिक शरिर हामी माझ छैन्, तर पनि तपाइको याद, माया र स्नेह अनवरत रुपमा आइ रहेका छन् ।
0000
बुवा, आज एक दिनको सम्झनाले मात्रै बुवासँगको सम्बन्धलाई न्याय गर्न नसक्दो रहेछ । बुवाकै अँगालोमा बेरिएर कुशे औंसीको शुभकामना दिने अनि आशीर्वाद थाप्ने पर्खाइ मेरो हकमा अव कहिल्यै पुरा हुने छैन् । सँगै बसी हजुरलाई खुसी दिन नपाए पनि हजुरले मलाई गरेको माया, ममता र स्नेह सधैंभरि सम्झिरहने छु । बुवालाई सम्झिन र माया गर्न आजकै दिन कुर्न पर्छ भन्ने कुरामा मेरो पटक्कै सहमति छैन ।
0000
आफ्ना छोराछोरीको भविष्य उज्यालो बनाउन आफूले दुःख, कष्ट र यथेष्ट पीडा सहँदै भोकै बसेर भए पनि निरन्तर संघर्षको बाटोमा पसिना बगाइरहने सबै बुवाहरूलाई कोटीकोटी नमन । म जस्तै थुप्रै सन्तान होलान् जसले बुवाको सम्झना मात्रै गर्नु बाहेक अरु बिकल्प छैन् । यो समयमा जन्मदिने बुवा साथमा नहुनुको पीडा म भन्दा राम्रोसँग अरू कसले बुझ्ला र ?
0000
करिअर बनाउने दौडमा बुवादेखि छुट्टिएर बसेका कतिपय सन्तान फादर्स डे मा भेटेर होस् या इन्टरनेटको सहाराले जोडिने प्रयत्न त गर्लान्, तर म सँग त्यो पनि विकल्प छैन् । बुवालाई आँखै अगाडी झलझलि देख्दा त्यसपछाडिको असन्तुष्ट र निन्याउरो अनुहार कसैगरी लुकाउन नसकिने रहिछ ।
‘समय फेरिएको छ, क्रियाकलाप बदलिएका छन् बुवाप्रतिको श्रद्धा र महत्व उही उचाइमा छ जसलाई व्यक्त गर्न सामाजिक सञ्जाल अपूर्ण छन् । ‘
तर आफ्नो अभिभावक जति नै टाढा भए पनि मायामा भने कहिलै कमी हुँदैन । मैले जीवनमा प्रेम लिन सिकेँ, दिन सिकेँ, सन्तुष्ट हुन सिकेँ, दुःखका बीच हाँस्न सिकेँ, बाँडेर खान सिकेँ, अप्रत्यक्ष नै भए पनि जे सिकेँ यी कुराहरू मैले मेरो बुवाबाट सिकेँ । अहिले भन्दा मैले ११ बर्ष पहिले सिकेँ ।
0000
यो संसारमा बुवाहरुको महानता पनि त्यस्तै छ, बुवा नै संसारका छोराहरूका लागि सच्चा नायक हुन् । यसो सम्झिँदा बुवासँगका मेरा प्रत्यक्ष यादहरू त धेरै छैनन्, तर जति छन् ती मेरो नलेखिएका जीवनका किताबहरूमध्ये एउटा सुन्दर अध्याय बनेर रहेका छन् । विगत सम्झिदा गहँ भरी आँसु वनाउनु बाहेक अरु विकल्प छैन् ।
0000
आजको दिनमा म सबै छोराछोरीलाई भन्न चाहन्छु, आफ्नो सम्पूर्ण जीवन परिवारकै लागि अर्पण गरेर बुवाहरुलाई छोराछोरीले अंश र सम्पत्तिका लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । हाम्रो जिन्दगी घुमिरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन् आजका युवापुस्ताले ? यो गम्भीर प्रश्न बनेको छ ।कतिपयले बाबुआमाको त्याग र संघर्षलाई चटक्कै बिर्सिएको देख्दा म छक्क पर्छु । आफ्ना अभिभावकले दुई थप्पड हान्दा बरु मौन बसौं । इगो साध्न कदापी प्रतिकार नगरौं ।
0000
बुवा त्यो निमको पात जस्तै हो : भलैँ त्यो तितो होस् तर त्यो तितोले सधैँ ओखतीको रुपमा काम गर्दछ ।
0000