स्थानियको सक्रियतामा सरसफाइ अभियान सञ्चालन

झण्डै ४० घरधुरीमा फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण

सल्यान २५, भदौँ ।

सल्यानका ४० घरधुरीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । स्थानिय नागरिकहरुको सक्रियतामा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ कर्णेगाउँ र बागचौर नगरपालिका वडा नम्बर १० दारिमबोटका करिब ४० घरधुरीमा एकैसाथ सरसफाइ अभियान सञ्चालन गरिएको हो । आफ्नो समुदायलाई स्वच्छ, सफा र सुन्दर राख्ने उद्देश्यका साथ अभियान सुरु गरिएको स्थानियको भनाई छ ।

घर भित्र र घर बाहिर उत्पादित फोहोरको सही व्यवस्थापन गर्न नसकेमा समुदाय नै दुर्गन्धित हुने र यसले झाडापखाला, आँउ, हैजा लगाएतका सरुवा रोगहरु पनि सार्ने सम्भावना भएकाले सरसफाइ कार्यको थालनी गरिएको जनाइएको छ । आफ्नो घरसँगै सार्वजनिक स्थलहरु बाटो, पानीपँधेरो लगाएतका क्षेत्रहरुको सरसफाइमा पनि ध्यान केन्द्रित गरिएको स्थानियको भनाइ छ ।

सोही सन्दर्भमा रहेर शुक्रवार वडाका प्रत्येक घरधुरीमा नकुहिने फोहोरको व्यवस्थापनको लागि डस्टविन वितरण गरिएको छ । टोल सुधार तथा सरसफाइ अभियान अन्र्तगत स्थानियले नै रकम जम्मा गरेर खरिद गरिएका डस्टविन वितरण गरिएको हो । स्थानिय नारायण शर्माको अध्यक्षतामा भएको डस्टविन वितरण कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नेव बहादुर शाह, बागचौर नगरपालिका १० का वडाअध्यक्ष कृष्ण कुमार खड्का, स्वास्थ्य चौकी दमाचौरका प्रतिनिधि चित्रजंग शाह, स्थानिय बुद्धिजीवि शिव कुमार शर्मा लगाएतको सहभागिता रहेको थियो ।

झक्कु प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रमेश लामिछानेले गर्नुभएको थियो । गाउँबासीको पहिचान, सरसफाइ हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन गरिएको यस अभियान अन्र्तगत आफ्नो घरहरुमा गल्ने नगल्ने फोहोर छुट्याएर राख्ने र गल्ने फोहोरबाट कम्पोष्ट मल बनाइ करेसावारीमा प्रयोग गर्न सुझाव दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस