बडादशैँ मनाएर फर्किन थालेसँगै सल्यानका बजारमा चहलपहल बढ्दै : गाउँ सुनसान

सल्यान १, कार्तिक ।
सल्यान जिल्लाका ग्रामिण बस्तीहरु विस्तारै सुनसान बन्न थालेका छन् । हिन्दु नेपालीको महान पर्व बडादशैँ मनाउन घर गएकाहरू कामका लागि फर्किन थालेसँगै गाउँघर सुनसान हुन थालेका हुन् । चाडपर्व मनाउन जिल्लाको सदरमुकाम खलंगा सँगै प्रमुख बजारहरु श्रीनगर, थारमारे, कपुरकोट, सल्लीवजार बाट घर पुगेका स्थानीय काममा फर्किन सुरु गरिसकेका छन् ।

दशैँ मनाउन गाउँ गएका कर्मचारी, शिक्षक, बिद्यार्थी, व्यापारी बिस्तारै बजार फर्किन थालेका छन् । आजभोली गाउँबाट बजार तीर आउने सवारीसाधनहरुमा यात्रुहरुको कोचाकोच हुने गरेको छ । जिल्लाका प्रमुख वजारहरुमा रहेका पसलहरु खुल्न थालेका छन् भने सरकारी कार्यालयहरु पनि खुलेका छन् ।

गाउँ गएकाहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल हुन छाडेको स्थानियको भनाइ छ । स्थानियका अनुसार दशैँको बेला बजार सुनसान हुन्छन्, गाउँमा रमाइलो हुन्छ, तर दशैँ सकियो अब बिस्तारै वजारमा चहलपहल बढ्न थाल्छ, गाउँ सुनसान हुन्छन् । पढ्न शहर छिरेका र जिल्ला बाहिर जागीर गर्नेले पनि गाउँ छाड्न थालेका छन् ।

अहिले जिल्ला बाहिर फर्किनेको संख्या बढी हुन थालेपछि बाहिरी जिल्ला जाने गाडीमा यात्रुहरुको चाप धेरै नै बढेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस