सल्यानमा बेमौषमी बर्षाको असर : चिरा-चिरा ग्रामिण सडक

'मनपरि खनिएका ग्रामिण सडकले सुविधा भन्दा सास्ती धेरै'

सल्यान ६, कार्तिक ।
अबिरल बर्षाको कारण सल्यानका ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन समस्या भएको छ । वर्षाले ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी सञ्चालन गर्न समस्या भइरहेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि घर घरमा पुग्ने गरी डोजरको अत्याधिक प्रयोग गरी बाटो खनिएपनि बर्षाको पानीले प्रायः सवै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

जिल्लाको श्रीनगर–स्यानिखाल–मोखला, श्रीनगर–दहखोला, ढोरचौर–उचाल्ने–खार्वन, श्रीनगर–सालचौ–निगालचुँला, श्रीनगर–लक्ष्मीपुर–कालिमाटी, बागचौर–टाट्के–मखलम–पाथिहाल्ना, थारमारे–चोरपानी–जिमाली, लान्ति–कैचीमोड–चाँदनी गुफा, श्रीनगर– दार्मा, श्रीनगर–खलंगा–कुपिण्डे हुदैँ सल्लीवजार, श्रीनगर–मोखला–दमाचौर, श्रीनगर–बाफुखोला, कपुरकोट–रिम–सिन्वाङ सडक खण्डमा कतै पहिरो झरेको छ त, कतै खाल्डाखुल्डीका छन् । ती सडकमा सवारीसाधन सञ्चालन भैरहेको भएपनि उच्च जोखिम रहेको छ ।

स्थानीय तहले खनेका सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ भने विगतका पुराना सडकमा स्तर उन्नतीको नाममा जथाभावी डोजर प्रयोग गर्दा पहिरोका कारण यातायात अवरुद्ध भएका छन् । प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र कष्टकर मात्र होईन जोखिमयुक्त बनेका हुन् ।

सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । असार मसान्तको समयमा नयाँ ट्रयाक खोलिएका तथा स्तरोन्नती गरिएका सडक योजनाका काम अहिले वर्षाको भेलसँगै बगेका छन् ।

चाडपर्वको समयमा नै ग्रामिण सडक बन्द भएपनि स्थानिय तहले सडक सुचारु गर्न कुनै पहल नगरेको बन्गाड कुपिण्डे नगरपालिका ५ की स्थानिय गोपि सुनारले बताउनुभयो । नगरभित्रका सबै सडक अबरुद्ध भएको उहाँको दावी छ ।

बर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको छ । सडक अबरुद्ध हुदाँ बिरामी ओसारपसार गर्न समस्या भएको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका एम्बुलेन्स चालक यज्ञ बहादुर केसीले बताउनुभएको छ ।

कालिमाटी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रविलाल बस्नेतले खलंगा लक्ष्मीपुर कालिमाटी सडक खण्डमा झरेको पहिरो र खाल्डाखुल्डी पर्नु काम भैरहेको बताउनुभयो । सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गाउँपालिकाका भित्रका सडकहरुमा सामान्य पहिरो झरेको र केही स्थानमा सडक चिरा परेको भएपनि पुर्णरुपमा अबरुद्ध भने नभएको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस