स्वास्थ्य बिमाप्रति सल्यानका नागरिकको आकर्षण कम

दश महिनामा साढेँ ५ हजारले बनाए स्वास्थ्य बिमा

सल्यान ७, कार्तिक ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति सल्यानका नागरिकको आकर्षण कम देखिएको छ । २०७२ साल देखि शुरु भएको बिमा कार्यक्रम गत बर्षको पुस देखी सल्यानमा लागु भएको थियो । तर स्वास्थ्य बिमा कार्यक्रमप्रति भने नागरिकको आकर्षण बढेको छैन । जिल्लामा बिमा कार्यक्रम लागु भएको झन्डै १० महिनाको अबधिमा साढेँ ५ हजार नागरिकले मात्रै बिमा कार्यक्रम सहभागी भएका छन ।

यस अवधीमा जिल्लाभर ५ हजार ५ सय ५७ जनाले मात्रै बिमा बनाएको स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखा कार्यालय सल्यानले जनाएको छ । अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । बोर्डले अहिले बीमा कार्यक्रमलाई बाध्यात्मक नबनाएकाले सोचेको जस्तो नागरिक सहभागी नभएको बताइन्छ ।

बोर्डका जिल्ला संयोजक लाल बहादुर खड्काले यस अवधिमा जिल्लाभर अपेक्षा अनुसार नागरिकले स्वास्थ्य बिमा बनाउन नसकेको बताउनुभयो । स्वास्थ्यप्रति नागरिकले चासो नदिएकाले बीमामा आकर्षण कम भएको उहाँको भनाइ छ । ‘जिल्लामा गत पुष महिना देखी स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो, तर यस अवधिमा हामीले झण्डै १५ हजार नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गर्नुपर्दथ्यो तर बिमाप्रतिको नागरिकको बुझाइ र कोरोनाका कारण सोचे अनुसारको उपलब्धि हुन सकेन्’ उहाँले भन्नुभयो ।

‘गरिब विपन्न परिवारले अझै पनि उपचार गर्न सक्दैनन्’ उहाँले भन्नुभयो ‘त्यस्ता गरिब, विपन्न वर्गलाई उपचारमा अन्यले तिरेको शुल्कले सहयोग पु¥याउँछ ।’ उहाँका अनुसार जिल्लाका दश वटै स्थानिय तहका ८३ वटा वडाहरुमा दर्ता सहयोगी परिचालन गरिएको छ । उहाँले थप्नुभयो ‘वडाअध्यक्ष संयोजक तथा वडासचिव र स्वास्थ्य संस्थाका इन्चार्जको सिफारिसमा छनोट गरिएको व्यक्ति नै दर्ता सहयोगीको रुपमा रहनुभएको छ, उहाँहरुले नै नागरिकहरु सँग छलफल गर्ने, बिमाको बारेमा जानकारी दिने, स्वास्थ्य बिमाको फारम भर्ने काम गर्नुहुन्छ ।’

उहाँले स्वास्थ्य बीमा गरेका तर बिरामी नभएका घरपरिवारको शुल्कले बिरामी हुने व्यक्तिको उपचारमा सहयोग पुग्ने भएकाले सबै स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले नागरिकहरुलाई बिमा प्रति आकृषित गर्नको लागि यसबारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले तालिम गोष्ठीको आयोजना गरिने बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सय रुपैयाँको दरले थप शुल्क बझाउनुपर्छ । स्वास्थ्य बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम तिरिदिने गरेको छ । अति गरिब, एच.आइ.भी. संक्रमित, कुष्ठरोगी, अति अशक्त अपाङ्गता भएका परिवारलाई शतप्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुट, ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकले शत प्रतिशत छुट पाउने छन् । स्वास्थ्य बीमाबाट १ लाखसम्मको उपचार सेवा पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि सल्यानका तीन अस्पताललाई तोकेको छ । जसमा जिल्ला अस्पताल सल्यान, प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा र प्राथामिक स्वास्थ्य केन्द्र थारमारे रहेका छन् । ती अस्पतालमा स्वास्थ्य बीमा बनाएका परिवारका सदस्यले स्वास्थ्य सेवा लिनुपरेमा रु एक लाखसम्मको निःशुल्क उपचार गराउन पाउने छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले गत जेठ १ गते देखी जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा मार्फत निशुल्क सेवा प्रदान गर्न थालिएको बताउनुभएको छ । सफ्टवयरको व्यवस्थापन लगाएका कारण केही ढिला भएको बताउदैँ उहाँले अहिले भने सेवा प्रवाह भैरहेको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस