स्तरबृद्धिको पखाईमा जिल्ला अस्पताल सल्यान : ‘स्वीकृती १५ बेड : सञ्चालन ४० बेड’

स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तरबृद्धिको स्विकृति नदिंदा समस्या

सल्यान ११, कार्तिक ।
ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले सञ्चालन भैरहेको जिल्ला अस्पताल सल्यानको स्तरबृद्धि हुन सकेको छैन् । १५ शैयाको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पुरा भएको छ । तर यसको स्तरबृद्धि गरेर ५० शैयाको बनाउनको लागि सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् ।

तर जिल्लाका सरोकारवाला निकायहरुले गरेको पहलले सार्थकता पाउन सकेको छैन् । अस्पतालको स्तरबृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न स्थानिय, प्रदेश र केन्द्र सरकारले चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तरबृद्धिको स्विकृति नदिंदा समस्या भएको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।

जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक १ सय ५० जना सम्म बिरामी आउँछन् । जटिल र सामान्य गरेर मासिक १ सय ५० बढी सुत्केरी हुन्छन् । अस्पतालमा अप्रशेन देखी दन्त सेवा समेत सञ्चालन छ । अस्पतालले १५ शैयाको मान्यता पाएपनि आकस्मिक र अन्य गरेर ४० शैयामा सञ्चालन भैरहेको छ । यसै बर्ष देखी ३३ करोडको लागतमा नयाँ भवन निर्माण शुरु गर्ने तयारी गरिएको छ ।

अहिलेका संरचनाबाट नै तत्कालका लागि ५० शैयाको अस्पताल संचालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईरहेकाले मन्त्रालयले अस्पतालको स्तरबृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाई छ । अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु र १५ शैयाको अस्पताललाई ४० शैयामा सञ्चालन गर्दा स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको अस्पतालका डा. प्रदिप शर्माले बताउनुभयो ।

अस्पतालको स्तरबृद्धि नहुदाँ समस्या भैरहेको उहाँको भनाई छ । ‘जिल्ला अस्पतालमा सेवा लिनको लागि रोल्पा, रुकुम, जाजारकोटबाट समेत आउनुहुन्छ, यहाँ बिरामीको चाप नै हुन्छ, अस्पताल १५ शैयाको मात्रै भएकाले त्यही अनुसारको जनशक्ति छ, तर हामीले ४० शैयामा सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘उपचारका लागि यहाँ आएका बिरामीहरुलाई सकेसम्म यहीबाट नै निको बनाएर उठाउने हाम्रो प्रयास छ ।’

दोस्रो लहरको कोरोनाको उच्च जोखिमको समयमा भने झण्डै ७० बेड मार्फत सेवा प्रवाह गरिएको थियो । जिल्ला अस्पतालले ५० शैयाको मान्यता पाएमा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने, भौतिक संरचना थप निर्माण हुने तथा सेवा थप बिस्तार हुने र जसले गर्दा स्वास्थ्यकर्मीको अभाव, भवन अभाव जस्ता समस्या झेल्नु नपर्ने अस्पताल स्रोतले बताएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पठाएका भेन्टिलेटर र आईसीयूका सामान प्रयोग विहीन भएको बताउनुभएको छ । तालिम प्राप्त जनशक्ति अभाव, भवन अभाव, सामान अपुग जस्ता कारण अस्पतालमा ६ शैयाको भेन्टिलेटर र १४ शैयाको आईसीयू सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ ।

जिल्ला अस्पतालमा डाक्टर देखी कार्यालय सहयोगी सम्म गरेर ६५ जनाको दरबन्दी हो । अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । ती सबै करारका हुन् । अस्पतालमा सबै गरेर १५/२० जना भन्दा बढी स्थायी कर्मचारी छैनन् । ‘लामो समय देखी लोकसेवा खुल्न नसक्दा स्थायी कर्मचारी आउन नसकेको होलान्’ उहाँले भन्नुभयो ‘तर हामीले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी सहितको कर्मचारी हुनुपर्छ भनेर माग गरेका छौँ ।’

अस्पताल व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश ओली तत्कालै अस्पतालको स्तरबृद्धि गरिनुपर्ने बताउनुहुन्छ । यसबारेमा स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार, जिल्लाका नेतृत्वकर्ताहरुलाई घचघच्याउने काम गरिरहेको उहाँको भनाई छ । १५ शैयाको अस्पताल ४० शैयामा सञ्चालन भैरहेकोले केही समस्या भएको बताउदैँ उहाँले भन्नुभयो ‘हामीले सेवालाई प्रभावकारी र स्तरीय बनाउनमा ध्यान केन्द्रित गरेका छौँ, ५० शैयाको मान्यता पाए लगत्तै सेवामा थप सुधार हुने छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस