जनगणनाको लागि गणकहरुलाई तालिम

सल्यान १४, कार्तिक ।
गणकहरुका लागि चार दिने तालिम सल्यानको थारमारेमा शुरु भएको छ । राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम जनकल्याण नमुना माद्यामिक बिद्यालय थारमारेमा शनिवार देखी सुरु भएको हो ।

स्थानीय जनगणना समन्वय समिति संयोजक एवम् बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालको अध्यक्षता तथा नगरप्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा, मुख्य प्रशिक्षकहरु शिक्षा शाखा प्रमुख टेक बहादुर डिसी, डा. पूर्ण बहादुर भण्डारी, चुडामनी केसी, विरेन्द्र प्रकाश डिस., रविकिरण ओली लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महाअभियानबाट महत्वपूर्ण तथ्यांक प्राप्त हुने र संमृद्ध नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको बताउनुभयो । साथै जनगणनाको क्रममा आवश्यक प्राविधिक सहयोग र समन्वयको लागि बागचौर नगरपालिका हरबखत तयार रहेको समेत उहाँको भनाई छ ।

तालिममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरुको सहभागिता रहेको छ । कार्तिक १५ र १६ गते दुई दिनमा भने सुपरिवेक्षक पनि सहभागि हुने छन् । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ ।
तालिम उद्घाट कार्यक्रमको सञ्चालन स्थानीय जनगणना अधिकारी टेक बहादुर डिसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस