सल्यानमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

फाइल फोटो

सल्यान १७, कार्तिक ।

जिल्ला प्रशासन कार्यालय सल्यानले नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीका अवसरमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न दिने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितीको निर्णय अनुसार प्रशासनले एक सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूर्णपालना गरी राति ९ बजे सम्म मात्रै देउसी–भैलो खेल्न दिने निर्णय गरेको हो ।

यसैगरी देउसी–भैलो लगाएतका कार्यक्रम सञ्चालन गर्दा अरुलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न समेत आग्रह गरिएको छ । प्रशासनले पटका, अतिशवाजी, भुइँचम्पा जस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको उहाँले बताउनुभएको छ । जिल्लामा चाडपर्व लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरिएको छ । जसमा चोरी नियन्त्रण, मदिरा सेवन नियन्त्रण र सवारी दुर्घटना न्यूनिकरणलाई प्राथामिकतामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले नेपालीको दोस्रो ठुलो चाड तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि चाडपर्व लक्षित योजना लागू गरिएको जानकारी दिनुभयो । ‘चाडपर्वमा नागरिकले दुःख नपाउन् भनेर हामीले सुरक्षा योजना बनाएका छौँ, ढुक्कसँग बिना भीडभाड घरैमा पर्व मनाउन अनुरोध गर्दछौँ’ उहाँले भन्नुभयो ‘दशैँको बेलामा जसरी नै सुरक्षा योजना लागु गरेका छौँ ।’

उहाँले दशैँको समयमा चोरी, मदिरा सेवनका कारण बिभिन्न घटना भएको तथा सवारी दुर्घटना समेत भएकाले यसलाई कम गर्नको लागी सुरक्षा निकाय केन्द्रित हुने बताउनुभयो । चाडपर्वको समयमा हुने भिडभाडलाई कम गर्दै नागरिकहरुको सहज आवतजावतको लागि जिल्लाका प्रमुख बजारहरुमा बिशेष रुपमा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइएको र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेकजाँचको व्यवस्था गरिएको छ । यस्तै बजारमा हुनसक्ने कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिन अनुमन समेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस