लोकसंस्कृतिको संरक्षण गर्ने तीन जना सम्मानित

सल्यान १०, मंसिर ।
सल्यानमा पुरानो लोकसंस्कृतिको संरक्षण गर्ने तीन जनालाई सम्मान गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका ५ रिममा पुरानो लोकसंस्कृति सोरठी र पैसरी नाचको संरक्षण गर्ने ७५ बर्ष उमेर माथिका तीनलाई सम्मान गरिएको हो । पछिल्लो समय लोकसंस्कृतिमा युवापुस्ताको चासो कम हुदैँ गएको र समाजमा प्रख्यात संस्कति हराउदैँ जान थालेको अवस्थामा सोरठी र पैसरी नाचको संरक्षण गर्ने तीन जना अग्रजलाई सम्मान गरिएको सोरठी नाचका अध्यक्ष खिम बहादुर पुनले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा रिम निवासी सोरठी तथा पैसरी नाचका अग्रजहरु गौरीलाल खत्री, बिरसिंह पुन र नरसिंह बिक रहनुभएको छ । करिब ६० बर्ष पुरानो नाचलाई संरक्षण गर्दै आएकाले सोरठी नाचको सगर चढाउने कार्यक्रमको अवशरमा सम्मान गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

स्थानिय स्तरमा रहेका पुराना लोकसंस्कृतिको संरक्षण र पुस्तान्तरणमा सबै लाग्नुपर्नेमा समाजसेवि पुर्भान पुनले जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले हाम्रो पहिचान, हाम्रो संस्कृति सँग जोडिएको सोरठी पैसरीलाई संरक्षण गर्र्नुपर्ने र यसका लागि स्थानिय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

स्थानिय मेला, तिहार, बिबाह, पुजा, पास्नी लगाएतका अवसरमा सोरठी नाच नाच्ने गरिन्छ । कार्यक्रमको सहजीकरण सचिव वेद प्रसाद पुनले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस