‘मानवअधिकारको पूर्ण प्रत्याभूति गराउन माग’

सल्यान २५, मंसिर ।
सल्यानका सरोकारवालाहरुले मानवअधिकारको पूर्ण प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले मानवअधिकार उलंघनका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई तत्काल रोक्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ७३ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनका सन्दर्भमा शुक्रवार खलंगामा आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

मानवअधिकारको अवस्था विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने बक्ताहरुले मानवअधिकार हनन्कर्तामाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएका छन् । उनीहरुले मानवअधिकारको प्रत्याभूति गराउने प्रतिवद्धताको पूर्णपालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । बिभिन्न अपराधजन्य घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न सरकारलाई दवाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले समानता, न्याय र मानव मर्यादाका लागि सबैलाई एकजुट हुन आहृवान गर्नुभएको छ । आमनागरिकमा मानवअधिकारको पुर्ण कार्यान्वयन नभएको जस्तो देखिएको भएपनि यसको पुर्ण कार्यान्वयनको लागि सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । पीडितलाई न्याय दिने र पिडकलाई कानुनको दायरामा ल्याउन सबैले गम्भिरतापुर्वक जिम्मेवारी पुरा गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल बार एसोसिएसन सल्यानका अध्यक्ष सिपि ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवाली, जिल्ला न्यायाधीवक्ता जय प्रसाद धिताल, प्रहरी निरिक्षक श्याम प्रकाश यादब, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतम लगाएतले बोल्नुभएको थियो ।

‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा इन्सेक प्रतिनिधि मिना बुढाथोकीले मानवअधिकारको अवस्थाका बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरप्लेसका जिल्ला कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

बिभिन्न निकायको सहयोग तथा हरप्लेस नेपाल, दलित विकास समाज सल्यान र इन्सेक सल्यानको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस