सल्यानको काभ्रामा स्त्रीरोग विशेषज्ञ स्वास्थ्य शिविर : २ सय ३० जनाले सेवा लिए

सल्यान १०, पुस ।
सल्यानको काभ्रामा स्त्रीरोग सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोग र त्रिबेणी गाउँपालिका सल्यानको आयोजनामा शनिवार जनता माद्यामिक बिद्यालयको प्रांगण काभ्रामा एक दिने निशुल्क स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा पाठेघर खसेका महिलाको संख्या १२ रहेको छ भने निशुल्क अप्रेशनको लागि ७ जनालाई प्रेषण गरिएको छ । यस्तै दुइ जनामा भिआइए पोजिटिभ रहेको पाइएको त्रिबेणी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष करुणा खड्काको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसी लगाएतकाले बोल्नुभएको थियो । शिविरमा सल्यान जिल्ला अस्पतालमा कार्यरत डा. अभिषेक सिंह, डा. पुजा सुवेदी र डा. संकेत बिश्वकर्माले स्वास्थ्य स्वास्थ्य जाँच गर्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस