सल्यानको त्रिबेणीमा नश्ल सुधारका लागि बोका वितरण

सल्यान ८, माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकामा बोका तथा बाख्राको उत्पादन बढाउनका लागि बोयर जातको बोका वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिका भित्रका १० जना बाख्रापालक कृषकहरुलाई शुक्रवार बोयर जातका बोका वितरण गरिएको हो । गाउँपालिकामा बाख्रापालक कृषक बढ्दै जाँदा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोका वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

गाउँपालिकामा खसी तथा बोकाको माग उच्च रहेकाले बोयर जातको बोका वितरण गरिएको शाखाका प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । ‘नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि बोका वितरण गरिएको हो’ शाखा प्रमुख रावतले भन्नुभयो ‘कृषकको मागको आधारमा पचाँस प्रतिशत अनुदानमा बोका वितरण गरेका छौँ ।’

गाउँपालिकाको २ लाख रुपैँया वजेट र कृषकको २ लाख रुपैँया गरेर ४ लाख रुपैँयामा १० वटा बोका खरिद गरेर वितरण गरिएको उहाँको भनाइ छ । ‘त्रिबेणी गाउँपालिका बाख्रापालनको लागि राम्रो सम्भावना बोकेको पालिका हो, जीवननिर्वाहका लागि मात्रै बाख्रापालन गर्दै आएका कृषकहरु पनि अहिले व्यवसायिक बन्दै गएका छन्’ उहाँले भन्नुभयो ‘कृषक प्रोत्साहनको लागि यो कार्य प्रभावकारी देखिएको छ ।’

उहाँका अनुसार त्रिबेणी गाउँपालिका १ का बल बहादुर रोका, सितली बुढाथोकी, रुपलाल थापा, वडा नम्बर २ का जित बहादुर घर्ती, वडा नम्बर ३ का कल्पना राना, यामा योगी, दिपक बोहरा, वडा नम्बर ५ का भावना बोहरा, फौज बहादुर गिरी र लिलमति गिरीले उन्नत जातका बोका पाउनुभएको छ । बोका पाएपछि कृषकहरु खुसी भएका छन् ।

कृषकहरुलाई बोका हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र उपाध्यक्ष करुणा खड्काले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्नको लागि बोका वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले उत्पादनका आधारमा कृषक प्रोत्साहन कार्यक्रम अन्र्तगत बार्षिक रुपमा न्युनतम ५ वटा खसी बिक्री गर्ने कृषकलाई प्रति खसी ५ सय रुपैँया प्रोत्साहन दिदैँ आएको छ ।

यस्तै गत बर्षदेखी यस गाउँपालिकामा बाख्रा पकेट क्षेत्र कार्यक्रम समेत सञ्चालन भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस