सल्यान २७, माघ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष शान्त कुमार यरीलाई नगरप्रमुखको ठाडो आदेशमा नगरपालिकाले कामकाजमा रोक लगाउने कार्य नगर्न नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधिशद्धय राजेश्वर तिवारी र चन्द्र बहादुर सारुको संयुक्त इजलासले वडाअध्यक्ष यरीको कानुन पदत्त हक अधिकारको प्रयोगमा बाधा अड्चन उत्पन्न भएको देखिएकाले अन्तिम टुंगो नलागे सम्म वडाअध्यक्षलाई जिम्मेवारी अनुसार नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्धाको अन्तिम टुंगो नलागेसम्म वडाअध्यक्ष यरीलाई कामकाजबाट बञ्चित नगर्न नगराउन नगरप्रमुख गोविन्द कुमार पुन र नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरिएको छ । गत पुस १९ गते नगरप्रमुख पुनको ठाडो आदेशमा वडाअध्यक्षलाई यरीलाई जिम्मेवारीमुक्त गरिएको भन्दै नगरपालिकाले पत्र पठाएको थियो । यस नगरपालिकामा नेकपा एमाले बाट बिजयी भएका वडाअध्यक्ष यरी पार्टी बिभाजन पछि नेकपा एकीकृत समाजवादीमा लागेपछि मेयर रुष्ट बनेका थिए । यहि मौकामा अख्तियारमा परेको मुद्दाको आधारमा मेयरले वडाअध्यक्षलाई जिम्मेवारी बिहिन बनाउन वडाको नाममा पत्र पठाएर कामबिहिन बनाएका थिए ।