नेकपा एस छत्रेश्वरीद्धारा १ सय ५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा

सल्यान १७, चैत ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको छत्रेश्वरी गाउँ कमिटीले १ सय ५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ कमिटीले निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । जसको संयोजकमा पार्टीका गाउँ कमिटी अध्यक्ष गोविन्द केसी रहनुभएको छ ।

आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनको लागि चुनाव प्रचारप्रसार लगाएतका कार्य सञ्चालन गर्न कमिटी घोषणा गरिएको पार्टीले जनाएको छ । विहीवार गाउँपालिकाको वडा नम्बर ५ लेखपोखरामा आयोजित एक कार्यक्रममा गाउँ कमिटीका अध्यक्ष केसीले गाउँपालिकाका ७ वटै वडा र २१ वटा टोलमा कमिटी बिस्तार गरिएको बताउनुभएको छ ।

यी सबै कमिटीहरुमा गरेर ६ सय ५ नेताकार्यकर्ता समाबेश भएको उहाँले बताउनुभयो । उहाँले पालिका भित्रका सबै वडाहरुमा पार्टीका चुनावचिंह अंकित झण्डा सहितको पार्टी सम्पर्क कार्यालय स्थापनाको शुरुवात गरिएको र पार्टीको सिंगो पंक्ति निर्वाचन केन्द्रित भएर लागेको बताउनुभयो । जसका लागि घरदैलो अभियान समेत सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।

सो अवशरमा पार्टीका प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ (समाजवादी) का जिल्ला अध्यक्ष बुद्धा केसी, पार्टीका जिल्ला कमिटी सदस्य तथा छत्रेश्वरी गाउँपालिका ५ का वडाअध्यक्ष लिलाधर घर्ती, पार्टीको छत्रेश्वरी गाउँपालिका ५ का वडा कमिटीका अध्यक्ष याम बहादुर पुन, युवा संघ नेपालका प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज केशर केसी, अखिल नेपाल महिला संघ (समाजवादी)का छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष नन्दा नेपाली, दलित मुक्ति मोर्चाका प्रदेश कमिटी सदस्य शेर बहादुर बिक, युवा संघ नेपालका गाउँ कमिटी अध्यक्ष यज्ञ बहादुर केसी लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस